तराईमा डुबान हुनुको कारण के ? यसको दिर्घकालिन समाधान कसरी सम्भव छ ? (प्रस्तुत छ, सिचाई मन्त्री, सीमाबिद् र विश्लेषकसँगको वहस)

(बर्षेनी जब बर्षातको मौसम आउँछ नेपालको तराई भुभाग जलमग्न हुन्छ । डुबानका कारण हरेक बर्ष मानिसहरुले ज्यान गुमाउनु परेको छ । यसपटको बाढीका कारण सय बढिले ज्यान गुमाए, केही बेपत्ता, केही घाइते भए त खाद्य सामाग्रीका साथै अन्य महत्वपूर्ण सामाग्रीहरुको क्षति बेहोर्नुपर्यो । तर यसको समाधानको विषयमा सरकार र यससँग सम्बन्धीत पक्षहरु किन मौन छन ? के यसको कुनै समाधानको उपाय छैन त ? हामीले सिचाई मन्त्री सञ्जय गौतम, सीमाबिद् बुद्धि नारायण श्रेष्ठ र विश्लेषक तथा अधिवक्ता दिपेन्द्र झाँ सँगको तराई डुबानको कारण र समाधानका उपायबारे बहस गरेका छौ । प्रस्तुत छ, उहाँहरुको धारणाः–)

सञ्जय गौतमः सिचाई मन्त्री-‘सरकार दिर्घकालिन समाधानको खोजिमा छ’

बर्षेनी तराईका जिल्लाहरुमा हुने गरेको बाढी र डुबानको समस्याको दीर्घकालिन समाधनमा सोच्नै पर्ने देखिन्छ, यसको विषयमा धेरै किसिमले सोच्नु पर्छ भन्ने लाग्छ । हाम्रो तराई क्षेत्रमा माटो स्खलन पनि छ, त्यसपछि अब पर्यावरणको प्रयोजनले पनि यसमा फरक पारेको छ, सीमावर्ति क्षेत्रमा भएका बाँधहरु र बाटोहरुले पनि यसलाई फरक पारेका छन । त्यसकारण यो विषयमा राज्यले सबै कुरामा राम्रो अध्ययन गरेर कदम चाल्नुपर्छ भन्ने लाग्छ । यो समस्या आउँदा बर्षहरुमा फेरी नहोरिनका लागि अग्रगामि र दीर्घकालिन समाधान खोज्नुपर्छ । भर्खरै म मन्त्रालयमा आएको छु, यो विषयमा विज्ञहरुलाई राखेर सरकारका अथोरिटिहरुलाई डाकेर, यसको दीर्घकालिन समाधानका लागि के कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने विषयमा पहिले सुझाव लिने सोच बनाएको छु । त्यसपछि हामी एउटा निष्कर्षमा पुगेर त्यहि अनुसार पहल गर्छौ । यस विषयमा सरकार गम्भिर भएर यसको दीर्घकालिन समाधान खोज्नु पर्दछ । यस्तो विपत्तिको सामना गर्नको लागि सरकार जति बेला पनि तयार भएर बस्नु पर्छ र यसका समाधानका उपायहरु के छन, समस्याहरु के हुन र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भिर तरिकाले सोच्नुपर्छ, सिचाई मन्त्रालय यो विषयमा गम्भिर रुपले सोचिरहेको छ ।

बुद्धि नारायण श्रेष्ठः सीमाविद्-‘पुराना सन्धीहरुको पुनरावलोकन गर्नुपर्छ’

नेपालको तराइृ क्षेत्रमा बर्षेनी बर्सातको मौषममा डुबानको समस्याले जहिले पनि पिडा दिई राखेको छ । यसको मुख्य कारण नेपालबाट बगेर गएको पानी भारततर्फ जादाँ रोकिनु नै हो । नदिको अप्राकृतिक भारतीय बाँध, तटबन्ध, ब्यारेजले छेक्नु नै हो । यसरी छेक्दाखेरीे भारत बाढीको तर्फबाट बच्छ तर नेपालका जनताहरु बर्षेनि डुवानमा पर्ने गरेका छन । यसको दीर्घकालिन समाधन र भारतमा पनि बाढीले तहनहस नमच्चाउने अनि नेपालमा पनि डुबानको प्रकोप नहुने दूई विषयबाट सम्भव छ । हाम्रो जल, वन, जङ्गल काटीएको कारणले पनि बाढी प्रकोप आउँछ, चुरे दोहन गर्नाले पनि बाढी प्रकोप आएको छ, त्यस कारण हामीले सर्बप्रथम, जङ्गलको सुरक्षा गर्नु पर्यो र चुरे दोहन हुन दिनु भएन । अर्को कुरा भारतले बनाएको जुन सीमावर्ति बाँधहरु छ, त्यो बाँधमा चाहि नेपालबाट बगेर जाने पानीलाई निरन्तर रुपमा जान दिनु पर्यो, बाँधको ढोका खोल्नु पर्यो, बर्षातको मौसममा, प्रशस्त मात्रामा ढोका खोल्नु पर्यो र यसबाट भारतलाई बाढीको प्रकोप हुन्छ भने उसले नदिको दायाँ, बायाँ लामो तटबन्ध बनाएर आफ्नो सुरक्षा आफै गर्नुपर्यो तर अप्राकृतिक ढंगले बाँध बाँध्नु भएन । भारततर्फ नदिले दायाँ, बायाँ पट्टि पस्न नपाउने गरि पानी बग्न पायो भने नेपालमा डुवानको प्रकोप हुदैन, पानी जम्दैन र दुबैतिर समस्या समाधान हुन सक्छ । बाँध भत्काउनुपर्छ भन्ने खालको कुरा अलि बिध्वंसात्मक हुन्छ, भत्काउनुको बदलामा, सन्धिले नै अप्ठ्यारो पारेको छ तसथ त्यसको पुनरावलोकनको माग राख्नु पर्छ । कोशिमा सन् १९९ वर्षसम्म हाम्रो सपोर्टमा बनेको त्यसको सञ्चालन, त्यसको प्रशासन, त्यसको मर्मत सम्भार आदि भारतले गर्ने भनेर सम्झौता गरिएको छ । यो नै विडम्बना हो, बाँध हाम्रो सपोर्टमा बनेका छ, प्रशासन उनीहरुको लाग्ने त्यो कोशीको ब्यारेजमा, त्यसकारणले हाम्रो नेपालले नै यसको सञ्चालन गर्न पाउने भन्ने एउटा सम्झौतामा फेरबदल भयो भने, संशोधन भयो भने राम्रो हो । अर्को कुरा गण्डक सम्झौता छ, गण्डक बाँध छ भैसालेकाङमा गण्डक ब्यारेज बनाईएको छ, सन्धि सम्झौता अनुसार त्यो भन्दामथि तिरको भागको पानी एक थोपा पनि हामी उपयोग गर्न सक्दैनौँ । अब हामीले पनि त्यस क्षेत्रको पानीको उपयोग त केहि मात्रामा गर्न पाउनुपर्ने हो नि तर त्यो सम्झौता सन्धिले गर्न नदिने भएका हुनाले यस्ता सन्धि सम्झौताहरु दुबै देशको हितमा राखेर, दुबै देशलाई फाईदा हुने गरेर नयाँ ढंगले पुनरावलोकन गर्नुपर्ने हुन्छ, यसमा प्रवुद्ध समूह र सरकारले पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

दिपेन्द्र झाँ: विश्लेषक तथा अधिवक्ता-‘भारतको कारण डुबानको समस्या भएको हैन’

डुबान हुनुको धेरै कारण छन । हाम्रो नदी नियन्त्रणहरु जुन हिसाबले हुनुपथ्र्याे त्यो किसीमको कामहरु कुनै पनि ठाँउमा भएको छैन । जस्तै मेरो घर महोत्तरी जिल्लाको दानमणि गाविस पर्छ, त्यहाँ राप्ती नदी छ । तर त्यहाँ त्यो नदिको तटबन्धन भएको छैन, अब तटबन्धन नहुनुको कारणले त्यहाँ समस्या भएको छ, त्यसको दोष सत्तासँग जोडिन्छ । दोस्रो कुरा के छ भन्दाखेरी जुन हाम्रो बसोबास छ, त्यो बसोबासको पनि थोरै सुधार गर्नुपर्ने, व्यवस्थीत बसोबास गर्नुपर्ने तर त्यसो हुन सकेको छैन, तराईमा बाढीको यो पनि एउटा कारक तत्व हो । त्यस्तै तेस्रो कुरा प्राकृतिक हो । जंगलको फडानी तिब्र गतीमा भैरहेको छ, वातावरणिय प्रभाव बढेको छ, यसको कारणले पनि तराईमा समस्या बढि देखिएको हो । त्यस्तै चौथो कुरा, धेरै बाँधहरु भारतीय पक्षले बाँधेको छ, उसले उसले आफ्नो बिकास गरिरहेको छ, त्यो लेबलमा हामीले आफ्नो विकासलाई बढाउन सकेका छैनौँ । तर सबै समस्याको कारण भारतलाई मात्र देख्नमा अलीकति बुझाईको कमी पनि हो भन्ने मलाई लाग्छ । जहिले पनि भारतलाई मात्र दोष दिएर आफू चाही चोखिने कुराहरु यहाँका शासकहरुको गर्दैआएका छन, त्यो भारतले बाँध बाँधेको हो भने त्यो गल्ति भारतको हो कि हाम्रो ? सरकारले कुरा गर्न नसक्या हो त ? हैन त्यो गल्ति पनि सरकारको लाचारीपनको कारणले नै भएको हो नि, पहिले हामी आफु ठीक हुने हो, अनि बाहिरकोलाई हामीले दोष दिएर पन्छिने कुरा गर्नु हुँदैन । त्यसकारण मलाई के लाग्छ भने खोट हाम्रै सिस्टममा छ, हामी बाहिरतिर भैतारिएको जस्तो लाग्छ । अनि कस्तो बाँध ? के बाँध ? के सम्झौंता गरेको हो ? नेपाली जनताले थाहा पाउन सकेका छैनन् । त्यो सहमती नेपाल भारत सरकारको बिचमा भएको होला, त्यो त हामीलाई थाहा छैन, जनताको स्तरमा त्यो थाहा पाएपछि तेस्लाई बुझेर सन्धि सम्झौंता पढेर त्यो रेसपोन्स गर्नु एउटा कुरा हो, तर मलाई के लाग्छ भन्दा खेरी अझै हाम्रो वहस भारततिर मोडेर सरकारलाई छुटाउन खाजे जस्तो देखिन्छ । आफूले नदी नियन्त्रण गर्न नसकेको, आफूले तटबन्धन नियन्त्रण गर्न नसकेको, हिजै सप्तरीको समाचार आएको छ, खार खोलाको तटबन्धन नभएर त्यो समस्या भएको हो । हामी चाही कोशीको भन्ने तिर लागेर अनावश्यक बिवाद गर्ने । यहाँ कतिपयलाई उग्र राष्टवादले दोषीत बनाएको छ । हाम्रो चिन्तन त्यो पनि र यो पनि हरेक कुरामा भारतलाई आरोपी देख्छौं, त्यसले समस्या समाधान गर्दैन, समाधानको लागि समस्याको कारक हामी आफैं हुनुपर्छ, अनि उचित विकल्प सहित अघिबढ्नु पर्छ । बर्षेनी हुने तराई डुबानको यस्तो समस्या समाधानका लागि तटबन्धन र नदी नियन्त्रणको दुईटा कामलाई तिब्रताका साथ अगाडि लानु पर्याे । हाम्रो पानी बाटोघाटोहरु एकदम अग्लो गरेर बनाउनु पर्याे, बस्तिहरुलाई व्यवस्थित गर्नु पर्याे, त्यस्तै बाँधको विषयमा भारतसँग पनि बसेर सरकारले सम्झाउनु पर्याे । त्यो काम गर्ने त सरकारले हो नि ।