इनरुवाको रामनगर भुटहामा बाढीले बाटो बगाउँदा जनजीवन कष्टकर बन्दै

ज्यान जाखिम राखेर यात्रा गर्न बाध्य भएको स्थानीयवासीको गुनासो

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटहा र हरिनगरालाई जोड्ने एकमात्र बाटोका रुपमा रहेको इनरुवा—हरिनगरा सडकखण्डको रामनगर भुटहामा बाटो बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ।

केही दिन अगाडि आएको बाढीका कारण बाटो बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको यात्रु राजेन्द्र मेहताले बताएका हुन् ।

प्रत्येक वर्ष वर्षाको समयमा दुई गाउँ जोड्ने पुल र बाटो बाढीले बगाउँदै आएकाले स्थानीयवासी मारमा पर्दै आएका छन् । अहिले बाटो बगाउँदा स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

स्थानीयवासीले वैकल्पिक व्यवस्था गरिए पनि त्यो अल्पकालीन मात्रै हुने भएकाले स्थानीयवासी वैकल्पिक बाटोमा जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको स्थानीयवासी नसिम अन्सारीको भनाई छ ।

सुनसरी खोलामा आएको बाढी मरिया खोलामा पसेपछि हरिनगरा र भुटाहा जोड्ने बाटो तथा पुल बगाएकाले सो क्षेत्रका बालबालिका विद्यालय जानसमेत वञ्चित भएका छन् ।

बाटो नहुँदा एम्बुलेन्स, दमकल, प्रहरीलगायतका अतिआवश्यक सवारी साधनसमेत ५० किमी घुमाउरो बाटो भएर आवतजावत गर्नुपरेको छ । टाढाको बाटो एम्बुलेन्स प्रयोग गर्दा बिरामीले अकालमा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मौजमिल अहमदले बताए ।

यता हरिनगरा गाउँपालिकाका सहलेखापाल समिम अंसारीले पुल निर्माणका लागि सर्भे भैसकेको बताउँदै आउँदो आवको बजेटमा एकसय मिटरको पुल निर्माण गर्ने गाउँपालिकाको योजना रहेको बताए ।

पुल र बाटोका कारण प्रत्येक वर्ष समस्याको सामना गर्दैै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गरेर त्यो ठाउँमा पुल निर्माण गर्नु अहिलेको आवश्यकता देखिन्छ । रासस