साना लगानीका मिडियाको संवद्धनका लागि सघर्ष गर्नुपर्नेमा जोड

सरकारलाई साना लगानीको मिडिया प्रति ध्यान दिन आग्रह

बाँके । नेपालगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साना लगानीका मिडियाको संवद्धनका लागि राज्यले ध्यान नदिएको भन्दै हक, अधिकारका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन ।

क्रान्तिकारी पत्रकार महासंघ बाँके शाखाको आयोजनामा आज नेपालगञ्ज स्थित होटल पिस प्लाजामा आयोजित ‘साना लगानीका मिडियाको अवस्था र श्रमजीवि पत्रकार’ विषयक अन्तरक्रिाया कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले वर्गिय समाजमा मिडियालाई समेत राज्यले दुई भागमा वर्गिकरण गरेको भन्दै साना लगानीमा सञ्चालीत मिडियाहरुको संरक्षणका लागि एक भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

पत्रकार जैसीले राज्यको गुणगान गाउने मिडियाहरु मोटाउदै गएको भएपनि जनताको आवाज बोल्ने, जनपक्षिय र सानो लगानीका मिडियाहरु उसको सौतेनी व्यवहारका कारण दुब्लाउदै गएको तर्क गरें ।

जैसीले साना लगानीका मिडियाको हक, हित र संरक्षणका लागि पत्रकार महासंघले एक समिति बनाएको भएपनि त्यसले आवश्यक पहल नगरेकाले संघर्ष गर्नुको विकल्प आफुले नदेखेको बताए । उनले आफ्नो संगठनले शुरुदेखि नै श्रमजिवी पत्रकारको पक्षमा, साना मिडियाको संवद्धनको पक्षमा संघष गदै आएको भन्दै अहिले त्यसैको निरन्तरतामा बाँकमा अन्तरक्रिया गरिएको दावी गरें ।

तीन चरणमा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यले साना लगानीका मिडियाको हक, हित र संवद्धनका लागि उचित ढंगको भुमिका खेल्न नसकेको भन्दै राज्यलाई जवाफदेहि बन्न आग्रह समेत गरे ।

कार्यक्रममा समय अधिकार राष्ट्रिय दैनिकका प्रकाशक–सम्पादक रहिस अहमद सिद्दीकीले एक लिखित पत्र बाचन गर्दै राज्यले ठूला मिडियाको मात्र संरक्षण गरेको आरोप लगाए । उनले राज्यलाई सचेत बन्न आग्रह समेत गरें ।

सिद्दीकीले उक्त पत्रमा भनेका छन–‘सरकारले स्थानीय पत्रपत्रिकामाथि अनावश्यक भार लादेको छ, साना लगानीमा सञ्चालित मिडियाहरुले परिवर्तनको पक्षमा राम्रो भूमिका खेलेको भएपनि राज्यले त्यसमा सहयोगकारी भूमिका नखेलेका कारण बाँकेका अधिकाशं मिडियाहरु समस्यामा छन ।’

उनले स्थानीय मिडियामा राज्यले सुविधा दिन नसकेका कुनै पनि हालतमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसक्ने दावी गरेका छन । उनले श्रमजीवि पत्रकार ऐनको कार्यान्वयका लागि सरकारले समस्या खडा गरेको आरोप लगाएका छन ।

त्यसैगरी दैनिक खबरी दैनिक पत्रिकाका प्रकाशक भरत बैश्यले राज्यको हेपाहा नितिका विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । उनले राज्यलाई मिडियाको क्षेत्रमा उचित भूमिका खेल्न आग्रह समेत गरे ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै ग्लोबल टाइम्स राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक टेकेन्द्र बस्यालले राज्ले स्थानीय साना लगानीका मिडियाको हक, हितमा कुनै कार्यक्रम नल्याएको बताए । उनले सरकारको नजरमा परेका सिमित मिडियाको अवस्था सुढृण भएतापनि धेरै मिडियाहरु समस्याका बीचबाट सञ्चालनमा आएको बताए ।

न्यूज यथार्थका सम्पादक आशिष गुप्ताले सरकारले आफु अनुकुलका मिडियालाई मात्र पोस्ने काम गरेको आरोप लगाउँदै समग्रमा साना लगानीका मिडियाको हक, हितको पक्षमा राज्य निदाएकाले अब ब्यूझाउनुपर्ने बताए ।

उक्त कार्यक्रममा रेडियो सद्भावका समाचार प्रमुख प्रिया स्मृति ढकालले मिडियाको सञ्चालनमा देखिएका समस्यालाई सहज बनाउँदै त्यसको प्रभावकारीतामा पनि जोड दिनुपर्ने धारणा राखें । उनले पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धीमा समेत ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी प्रेस चौतारी बाँकेका कमल डाँगीले भने फरक मत राख्दै राज्यले मिडियालाई सहयोग गर्न नहुने तर्क गरे । उनले मिडियाको सञ्चालन, प्रभाव, कन्टेन लगायतका विषयले त्यसको व्यवस्थापनमा प्रभाव पार्ने बताए ।

उक्त कार्यक्रको समापन गर्दै क्रान्तिकारी पत्रकार महासंघ बाँकेका अध्यक्ष दिनेश श्रीवास्तवले पत्रकार महासंघलाई साझाँ चरित्रको बनाउनमा सबैले ध्यान दिनुपर्ने भन्दै पत्रकारीतासँग सम्बन्धीत सबै संघर्षको नेतृत्व उसैले गरोस भन्ने आफुहरुले चाहेको भएपनि त्यसो हुन नसकेको बताए ।

उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघ बर्दियाका अध्यक्ष आयुष न्यौपानेले गरेका थिए । अध्यक्ष न्यौपानेले सञ्चालनका क्रममा सबै श्रमजिवि पत्रकारहरु र स्वरोजगार पत्रकाकारहरुलाई संघर्षका लागि एक हुन आग्रह समेत गरे ।

त्यस्तै प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण ओली, पर्यटन पत्रकार संघका सचिव मधु पौडेंल, थारु पत्रकार संघका अध्यक्ष विमला चौधरी, भिजन टेलिभिजनका भगतराम थारु, पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारु, उपाध्यक्ष रुपा गहतराज, सचिव तिलक गाउँले लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रमका पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला बार एशोसियसनका अध्यक्ष उदय राज वर्मा, मानवअधिकार आयोगका प्रतिनिधिहरु, व्यवसायी, पत्रकारहरुका साथै राजनीतिककर्मिहरुको समेत उपस्थिति रहेको थियो ।