एकताको कुनै बिकल्प छैन,एकताको प्रस्तावलाई जनअनुमोदन भएको छः प्रचण्ड

एकताविरुद्ध चलखेल बढेको आरोप

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा एमालेसँग आफ्नो पार्टीको एकता नगर्नुको बिकल्प नभएको बताएका छन ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन । उनले जनताले आफुहरुले अघिसारेको पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरिसकेकाले एकताको विकल्प नभएको बताए ।

उनले एकताका विरुद्ध एमाले र माओवादीका केही नेताहरु लागेको भएपनि त्यो सफल हुन नसक्ने तर्क गरें । उनले दुई दलबीच पार्टी एकताको लागि भएको समझदारी कार्यान्वयन हुनेमा शंका गर्ने कुनै ठाउँ नभएको दावी गरे ।

उनले भने–‘यस बीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें । एउटा शक्तिले बाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो, मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ । तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ, त्यसका लागि तपाईहरुजस्तो बौद्धिक समूहको सहयोग चाहिन्छ ।’

एक प्रसंगमा उनले भने–‘कैयौं मान्छेले मलाई अस्थिर पनि भन्छन् । तिनै मान्छेहरु मलाई गतिशील पनि भन्छन् । म परिस्थिति नयाँ ठाउँमा पुगेपछि पुरानै ठाउँमा बस्दिनँ । परिस्थितिको मागअनुसार अघि बढ्छु ।’

परिस्थिति हेरेर निर्णय लिने आफ्नो विशेषता भएको भन्दै उनले भने–‘म कहिल्यै पनि रणनीतिक लक्ष्यका विरुद्ध जाने गरेको छैन । आफ्नो स्वाद पर्दा त्यही निर्णय गतिशील हुने र नपर्दा अस्थिर हुने बिचित्रको विश्लेषण पनि हामीकहाँ छ । तर, जनताको अभिमत र चाहनाविरुद्ध हामीले कुनै निर्णय गर्नु हुँदैन । विरोधीहरुका चुनौतिलाई पन्छाएर एकता सफल पार्नैपर्छ ।’