बर्दियामा क्रान्तिकारी माओवादीको अभियान: ठाउँ ठाउँमा संगठन निर्माण

जनयुद्ध दिवसको भव्य तयारी

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) ले शुरू गरेको तीन महिने संगठन तथा जनपरिचालन अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।

जन-सम्बन्ध बढाउँदै आन्दोलनको उठान गर्ने नीति सहित पछिल्लो पटक क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू गाउँ गाउँमा पुगेर अभियान चलाइरहेका छन ।

उक्त अभियान बर्दिया र बाँकेका विभिन्न स्थानमा समेत व्यापक रूपमा संचालन भैरहेको क्रान्तिकारी माओवादीले हरपल नेपालसँग बताएको छ ।

क्रान्तिकारी माओवादीले बर्दियाको भुरिगाउँ, राजापुर, बाँसगढी, ताराताल, गुलरिया लगायतका स्थानमा संगठन तथा जनपरिचालन अभियान अन्तर्गत छलफल, गोष्ठी, र्याली लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज संङ्कुलले जनताहरू परिवर्तनको पक्षमा, राज्य व्यवस्था बद्लने लडाइमा संगठित बन्दै गएको बताएका छन ।

उनले बाँके र बर्दियामा जनयुद्ध दिवशलाई विशेष रूपमा मनाउने तयारी भैरहेको समेत बताएका छन ।

त्यसैगरी क्रान्तिकारी माओवादीका जिल्ला सदस्य माहारूफ खाँ, लोकेन्द्र आचार्य, क्रान्तिकारी पत्रकार महासंघका पाँच नम्बर प्रदेश संयोजक लोकराज जैसी लगायतको विशेष उपस्थितीमा आज गुलरियाको लालपुरमा जनतासँग छलफल गरेको छ ।

त्यसैगरी क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दियाले लालपुरमा गाउँ स्तरिय कमिटी समेत आज गठन गरेको छ ।

माहिरूफ खाँको संयोजकत्वमा लालपुरमा देजमोको गाउँ कमिटी गठन गरिएको छ । उक्त कमिटीले स्थानीय समस्याको विषयमा छलफल समेत गरेको छ ।