एशियन कप छनोट फुटबल खेलमा यमनसँग नेपाल पराजित
फिलिपिन्स समूहको शीर्ष स्थानमा
प्रकासित मिति : २०७४ चैत्र १४, बुधबार प्रकासित समय : ०९:२९
काठमाडौँ । कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ भने जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्समा हुने एएफसी एशियन कपका लागि छनोट भएको छ ।
फिलिपिन्स समूहको शीर्ष स्थानमा रह्यो । त्यस्तै, समूह एफमा रहेका नेपाल र ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिए ।
प्रतियोगितामा छ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने दुई खेलमा मात्र बराबरी खेलेको थियो ।
यमनले खेलको ३४औँ मिनेटमा पहिलो अग्रता लिएको थियो भने नेपालका नवयुग श्रेष्ठले खेलको पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यो १–१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।
खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो ।
नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गर्यो । रासस