आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ देखि हुने

राष्ट्रपति भण्डारीद्वारा उद्घाटन गरिने

बाँके ।  नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गते देखि सुरु हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले बेलुकी ८ बजे गर्ने कार्यक्रम तय भएको विष्टले जानकारी दिए । यसअघि दुई पटक मिति तय गरिए पनि तयारी नपुगेका कारण स्थगित भएको थियो ।

राखेपले यही आउदो चैत्र २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय १५ चैतमा बस्न राखेपको बोर्ड बैठकले निर्णय गरिने बताउदै भिआइपी प्याराफिट सोमबार विहान देखि नेपालगन्ज रंगशालामा जडान हुने जनाए । उनले भिआइपि प्याराफिटलाई जडान गर्न १५ दिन लाग्ने जानकारी दिए ।

नेपालगन्जमा एक अर्वको लगानीमा भौतिक संरचना निर्माण भएको बताउँदै राखेप सदस्य सचिव विष्टले नेपालगन्जको इतिहास मै यति ठुलो लगानीमा पहिलो पटक प्रतियोगिता हुन लागेको बताए । ‘नेपालगन्जले भौतिक संरचनामात्र पाएको छैन, प्रतियोगिताले नेपालगन्जको अर्थतन्त्रमा समेत टेवा पुर्याउने छ ।

प्रतियोगिताकोे उद्घाटन भव्य समारोहका विच हुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिदै भारतमा अड्किएको प्याराफिट आइतबार साँझ आइ पुग्ने र सोमबार देखि जडान सुरु हुने अध्यक्ष ओलीको भनाई थियो ।

समन्वय बैठकमा उपस्थित नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा.धवल सम्सेर राणा,उप–मेयर उमा थापा मगर,खजुरा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपति,प्रमुख जिल्ला अधिकारी मदन भुजेल,प्रहरी प्रमुख एसपी अरुण पौडेल,सशस्त्र प्रहरी बल प्रमुख एसपी भेष बहादुर शाह,नेपालगन्ज उद्योग बाणिज्य सघंका अध्यक्ष नन्दलाल बैश्य लगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका थिए ।