भ्रामक समाचारहरु जनता र राष्ट्रकालागि घातक हुन्छन्ः विप्लव

निराशालाई आशामा बदल्नुपर्नेमा जोड

काठमाडौँ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ठूला मिडियाहाउसबाट आफ्नो पार्टीका नेताहरुको विषयमा भ्रामक समाचारहरु सम्प्रेषण भएको भन्दै त्यस्ता समाचाहरु देश र जनताको लागि घातक हुने तर्क गरेका छन ।

उक्त पार्टीका महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै केही दिनदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेको भन्दै त्यस्तो तर्क गरेका हुन ।

विप्लवले त्यस्ता भ्रामक समाचार आएकोप्रति आपत्ति जनाउँदै त्यस्मा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।

उनले जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्नेमा जोड दिएका छन । विज्ञप्तीको पूर्णपाठ तल छ ।

नेपाल कम्युनिस्ट पार्टी

केन्द्रीय समिति

केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ ।

उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन । म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन । विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ । अब पनि हामी सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राख्दछौं । तर भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुन जान्छन् । तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न सम्बन्धित सबैमा अपील गर्दछ ।

………………
महासचिव
विप्लव