‘इच्छुकको त्याग, बिरता र बलिदानीको गाथालाई आत्मसात गरौं’–मोहन बैद्य किरण (भिडियोसहित)

साहित्य मानव मुक्तिका लागि हुनुपर्नेमा जोड

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले महान शहीद कृष्ण सेन इच्छुककोे विरता, त्याग र बलिदानीको गाथालाई हरेक सामाजिक अगुवा, साहित्यकार, लेखक, पत्रकार सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन ।

इच्छुक प्रतिष्ठानको सभाहलमा हिजो १७ औं इच्छुक स्मृति तथा विरता दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन । साहित्यमा ‘चैतन्य’ उपनामले परिचित नेता बैद्यले साहित्य केबल लेख्नका लागि मात्र नभएर त्यमा मानव मुक्तिको विषय समेटिनुपर्नेमा जोड दिएका थिए ।

उनले स्रष्टाहरुको साहित्यिक योगदान आफैमा समकालीन समाजका वर्ग तथा वर्गीय विचार, चिन्तन तथा वर्गसंघर्षका उपज तथा तिनका प्रतिबिम्बन भएको बताएका थिए ।

उनले पश्चिमा साहित्यमा दुखान्तलाई महाकाव्यका रुपमा लिइएको र पूर्वमा प्रेम तथा सुखान्तलाई महाकाब्यमा उतारिएको बताए ।

उनले पूर्वीय दर्शनमा वीरता कम र श्रृंगार रस बढी पाइने भएकाले रामायणमा राम र सीताको बिछोडलाई महाकाव्यको मुख्य विषयवस्तु बनाइएको दावी गरे ।

उनले भने–‘पश्चिमा साहित्यमा प्रोमिथस जस्ता साहसी पात्रहरुले देवताका विरुद्धमा संघर्ष गरेर धरतीका मानिसहरुका लागि आगो चोरेर ल्याए । यो वीर रसमा आधारित छ ।’

उनले प्रगतिवादी साहित्य पनि मानवता, सुख र मुक्तिका लागि समर्पित बन्दै गएको बताए । उनले कृष्ण सेन इच्छुकको बन्दी र चन्द्रागिरीमा वीर रस पर्याप्त मात्रामा रहेको कुरा औल्याए ।

कार्यक्रममा महान साहित्यकार, लेखक, पत्रकार शहीद कृष्ण सेनको योगदानको चर्चा गर्दै उनले जिवनभर देश र जनताको पक्षमा गरेका त्याग र बिरताबाट शिक्षा लिनुपर्ने बताए । उनले इच्छुक प्रतिको सच्चा श्रदाञ्जली उनले देखाएको बाटोमा निरन्तर अघि बढ्नु र सामाजिक रुपान्तरणको प्रकृयामा जोडिनु रहेको समेत औल्याए ।

उक्त कार्यक्रममा लेखक, साहित्यकार, पत्रकार, बुद्धिजिवी लगायत युवा, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । बाँकी भिडियोमा हेर्नुहोस्…