सर्वहारा वर्गिय पार्टीमा वर्गसंघर्ष र अन्तरसंघर्षको सम्बन्धबारेः मोहन बैद्यको महत्वपूर्ण लेख…

‘सच्चा क्रान्तिकारीहरुबीच विचार निष्ठ एकता अनिवार्य’

-: दुई परस्पर विपरीत वर्गका बीचको संघर्षलाई वर्गसंघर्ष भनिन्छ, जस्तै दास समाजमा दास र मालिक, सामन्तवादी समाजमा जमिन्दार र किसान, पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गका बीचको संघर्ष । अन्तः संघर्ष भनेको पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक आदि विषय र कार्यदिशाका बीचमा चल्ने संघर्ष हो । वर्गसंघर्ष र अन्तःसंघर्षका बीच द्वन्द्वात्मक संबन्ध हुन्छ । यी दुवैले एक अर्कालाई प्रभावित तुल्याउँछन् । कम्युनिष्ट पार्टीभित्र चल्ने संघर्षलाई अन्तःसंघर्ष वा दुईलाइन संघर्ष भनिन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको राजनीतिक प्रतिनिधि हो । कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायतका सबै विभेदको अन्त्य गर्र्दै शोषणविहीन समाजको स्थापना गर्नु हो । यो काम जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादमा पुगेर मात्र सम्पन्न हुन्छ । यी सबै काम गर्ने साधन भनेको कम्युनिष्ट पार्टी नै हो ।

आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा साम्राज्यवादले सर्वहारावर्ग तथा त्यसको राजनीतिक पार्टीमा घुसपैठ गरेर र त्यहाँ अभिजातवर्ग तयार पारेर आफ्नो स्वार्थ सिद्ध गर्दछ । यसबारे प्रारम्भमा मार्क्स–एङ्गेल्स र पछि लेनिने स्पष्ट रुपमा प्रकाश पार्नु भएको पाइन्छ । सर्वहारा वर्गको पार्टीभित्र वर्गदुश्मनको घुसपैठ भयो भने त्यसले सो पार्टीलाई कमजोर बनाउँछ र अन्ततः त्यस पार्टीभित्र संशोधनवाद पैदा हुन्छ । त्यो स्थितिमा अन्तःसंघर्ष वा दुईलाइन संघर्ष चर्किएर जान्छ । त्यो बेला क्रान्तिकारीहरुले अन्तःसंघर्षलाई मैत्रीपूर्ण ढङ्गले चलाउँदै पार्टीभित्र विद्यमान गल्ती कमजोरीहरुलाई सच्याउने र पार्टीलाई देश, जनता र क्रान्तिको हितमा रुपान्तरित गर्ने काममा राम्रो भूमिका निर्वाह गर्दछन् र त्यसले वर्गसंघर्षलाई सही ढङ्गले सञ्चालन गर्ने काममा राम्रो मद्दत पुर्याउँछ ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा वर्गसंघर्षले अन्तःसंघर्ष र अन्तः संघर्षले वर्गसंघर्षलाई प्रभावित पारेका थुप्रै उदाहरणहरु छन् । कम्युनिष्ट आन्दोलनमा जुन विभाजन पैदा हुँदै आएका छन् तिनका पछाडि वर्गसंघर्ष र अन्तः संघर्षकै प्रमुख भूमिका रहेको छ । समाजमा वर्गसंघर्ष र पार्टीमा अन्तः संघर्षको अनिवार्यतालाई कसैले पन्छाउन सक्तैन । बरु तिनलाई समयमै राम्रोसंग ठम्याई सही ढङ्गले परिचालन गर्नेबारे क्रान्तिकारीहरुले विशेष ध्यानदिन आवश्यक हुन्छ । हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा पनि लामो समयदेखि अन्तःसंघर्ष चल्दै आएको छ र अहिले यो संघर्ष केही जटिल बन्न थालेको छ । हामीले देशलाई अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नका लागि २०५२ फागुन १ गते देखि महान् जनयुद्धको पहल गरेका थियौं ।

जनयुद्ध १० वर्षसम्म सशक्त रुपमा विकसित हुँदै गयो र अन्ततः बाञ्छित उद्देश्य हासिल नहुँदै त्यसको अन्त भएको घोषणा गरियो । हाम्रो पार्टीमा विचारधारात्मक, राजनीतिक र सांगठनिक पक्षसंग संबन्धित कैयौं महत्वपूर्ण प्रश्नहरुमा केही समययता गंभीर प्रकारको अन्तःसंघर्ष वा दुईलाइन संघर्ष चल्दै आएको छ । यसप्रकारको अन्तःसंघर्ष वा दुई लाइन संघर्षका कतिपय मूल विषयबारे स्पष्ट हुन जरुरी छ । सबैभन्दा पहिलो कुरा त यो अन्तःसंघर्ष लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रको प्रश्नसंग संबन्धित रहेको छ । चुनवाङ्गमा सम्पन्न केन्द्रीय समितिको वैठकमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित गरिएको थियो । आन्दोलनमा कुनै खास अवस्थामा तात्कालिक कार्यनीतिक नाराका रुपमा लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सकिए पनि लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको स्थितिमा त्यसैमा अडिरहनु गलत हुन्छ । त्यसै कुरामाथि ध्यानदिंदै पार्टीद्वारा जनताको संघीय गणतन्त्रको कार्यनीतिक नारा स्वीकार गरिएको थियो । परन्तु त्यसलाई पूरै अवज्ञा गरी लोकतान्त्रिक गणतन्त्रमा नै अल्मलिइरहने काम हुँदै आएको छ । यो गंभीर विषय हो । यसले पार्टीलाई विचलनतिर लैजान्छ ।

अन्तःसंघर्षको अर्को विषय देशको प्रधान अन्तर्विरोधसंग संबन्धित रहेको छ । पालुङ्गटारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत दुई ओटा प्रस्तावहरुमा देशभित्रका दलाल, नोकरशाह एवम् सामन्तवर्ग तथा भारतीय विस्तारवाद एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तर्विरोध बन्न गएको कुरा उल्लेख गरिएको थियो । सो बैठकको लगत्तै सम्पन्न केन्द्रीय समितिकै बैठकमा सोही कुरा पारित गरिएको थियो । परन्तु व्यवहारमा त्यसतर्फ ध्यान दिइएको छैन । यसबारे पनि पार्टीमा बहस तथा छलफल चल्दै आएको छ । पार्टीभित्रको अन्तःसंघर्ष जनयुद्धको अन्त्य गरिएको विषयसंग पनि संबन्धित छ । वार्ता प्रक्रियामा आए पश्चात् सरकार र माओवादी पक्षका बीच गरिएको विस्तृत शान्ति सम्झौतामा दश वर्ष सञ्चालित जनयुद्ध अन्त्य भएको घोषणा गरिएको छ ।

प्रमुख राजनीतिक मुद्दाका बारेमा आवश्यक सहमति कायम नगरी तथा क्रान्तिको सुनिश्चिततामाथि ध्याननदिई गरिएको यसप्रकारको घोषणाले पार्टीको सैद्धान्तिक एवम् राजनीतिक मान्यता अर्थात् समग्र कार्यदिशासित मेल खाँदैन । अन्तः संघर्षको अर्को विषय जनसत्ताको विघटनसंग संबन्धित रहेको छ । देशका विभिन्न भागहरुमा स्थापित जनसरकार र जनसत्ताको जसरी विघटन गरियो त्यो नितान्त गलत भएको छ । जनसत्ताको स्थापना महान् जनयुद्धको एउटा केन्द्रीय उपलब्धि हो । परन्तु त्यस उपलब्धिलाई समाप्त पार्नु एउटा गंभीर प्रकृतिको विचलन नै हो ।पार्टीभित्र चल्दै आएको अन्तःसंघर्षको एउटा केन्द्रीय विषय जनमुक्ति सेना नेपालको निःशस्त्रीकरण तथा विसर्जनसंग संबन्धित रहेको छ । वार्ता प्रक्रियामा आए लगत्तै यसबारे पार्टीमा अत्यन्तै जटिल प्रकारका अन्तःसंघर्ष चल्दे आएको छ । अन्ततः अत्यन्तै अपमानजनक ढङ्गले जनमुक्ति सेनाको जसरी विघटन, विसर्जन र निःशस्त्रीकरण गरियो त्यो नेपाली क्रान्तिको इतिहासमा गंभीर धोका र विश्वासघात हो । सेना समायोजन गरिने भनी सझौता गरिएकोमा त्यस विपरीत जनमुक्तिसेना नेपालको निःशस्त्रीकरण गरिएको छ ।

अन्तःसंघर्षको एउटा महत्वपूर्ण पक्ष संविधान निर्माणको विषयसित जोडिएको छ । पार्टीद्वारा पारित विभिन्न प्रस्तावहरुमा सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रमा आधारित नयाँ संविधानको निर्माण गर्ने कुरा पारित गरिएको छ । परन्तु, वास्तविक जीवनमा त्यस प्रकारको निर्णयको विरोधमा जाने काम भइरहेको छ । अहिले संविधानसभाको विघटन गरिएको छ र फेरि संविधानसभाको निर्वाचन भएर जनताको पक्षमा संविधान बन्ने कुराको कुनै सुनिश्चितता छैन । देश अझै पनि अद्र्धसामन्ती तथा अद्र्धऔपनिवेशिक अवस्थामा रहिरहेको छ । देशलाई यस प्रकारको अवस्थाबाट मुक्त गर्नकालागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अनिवार्य रुपमा आवश्यक हुन्छ र हामी यसै प्रक्रियामा अगाडि बढ्दै आएका छौं । पार्टीको आधिकारिक कार्यदिशा पनि यही नै रहेको छ ।

परन्तु कतिपय जिम्मेवार कमरेडहरुबाट सार्वजनिक रुपमा नै कुन कुराको अभिव्यक्ति दिने काम भइरहेको छ भने नेपालमा राजनीतिक क्रान्ति पुरा भइसक्यो, अब आर्थिक क्रान्ति मात्र बाँकी रहेको छ अथवा नेपालमा भिन्न ढङ्गले जनवादी क्रान्ति सम्पन्न भइसक्यो र अब केही कार्यभार मात्र बाँकी छन् । यी कुराहरुबाट पनि पार्टीमा गंभीर प्रकारको आशंका र अन्योल पैदा हुन गएको छ । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र अन्तःसंघर्ष वा दुई लाइन संघर्ष चल्छ र यसै संघर्षद्वारा पार्टी निरन्तर विकसित हुँदै जान्छ । कम्युनिष्ट पार्टीभित्र अन्तःसंघर्ष चल्नु स्वाभाविक कुरा हो । पार्टीमा अन्तःसंघर्ष चल्यो भनेर चिन्तित हुनु हुँदैन, परन्तु त्यसप्रकारको अन्तःसंघर्षलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कसरी अगाडि बढ्ने र पार्टीलाई कसरी क्रान्तिकारी बनाइराख्ने भन्ने विषयमा चिन्तनशील बन्न जरुरी हुन्छ ।

साथै, यहाँनेर के कुरा पनि बुझ्न जरुरी छ भने सच्चा क्रान्तिकारी कम्युनिष्टहरुका लागि पार्टी एकता सही विचार, सिद्धान्त, नीति र कार्यदिशामा आधारित हुन्छ । यदि पार्टीभित्र गंभीर प्रकारका सैद्धान्तिक तथा राजनीतिक विचलन पैदा भए र पार्टीले रंग बदल्ने स्थिति देखापर्यो भने त्यो बेला क्रान्तिकारीहरुका सामू विद्रोह बाहेक अर्को विकल्प बाँकी रहन्न । यसबारे पनि सतर्क रहन जरुरी छ ।

(नेकपा क्रान्तिकारी माओवादीक महासचिवसमेत रहेका मोहन बैद्य किरण साहित्यमा चैतन्यका नामले परिचित छन । उनी राजनीतिक, वैचारिक विषयमा कलम चलाउने गर्दछन ।)