लिपुलेक कसको ? संयुक्त विज्ञप्ति मार्फत चीन र भारतले गरेको अतिक्रमण रोक्न कस्ता प्रयास भए…

यस्ता छन्, लिपुलेकमाथिको आक्रमण रोक्ने उपायहरु

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता फणीन्द्र नेपालले लिपुलेक कस्को हो भनेर नेपाल सरकारप्रति प्रश्न गरेका छन ।

उनले आज बिहान करिब ९ बजेतिर सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त विषय वस्तुको अठान गर्दै त्यस्तो प्रश्न गरेका हुन ।

सामाजिक अभियन्ता नेपालले चीन र भारतले व्यापारिक मार्गको रुपमा लिपुलेकलाई प्रयोग गर्ने गरी गरेको सहमति नेपाली भूभागमाथिको अतिक्रमण भएको भन्दै त्यसलाई रोक्न सकिने आधारहरु सहित सरकारले पहल नगर्नुको कारणबारे प्रश्न गरेका छन ।

उनले नेपाली भूभागमाथि त्यसरी अतिक्रमण हुँदा नेपाल सरकरले त्यसलाई सच्याउन के पहल गर्यो ? जानकारी नभएको भन्दै नेपाली भूभागप्रति चिन्ता जनाएका छन ।

उनी लामो समयदेखि ग्रेटर नेपाल निर्माणको अभियानमा सक्रिय रहदै आएका छन । उनले लेखेको स्ट्याटस यस्तो छ ….

लिपुलेक कसको ?

सन् २०१५ मे १५ मा चिनियाँ र भारतीय प्रधानमन्त्रीले बेजिङमा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा नेपालको लिपुलेकलाई ती दुई देशबीचको व्यापारिक मार्गका रूपमा विकसित गर्ने भन्ने उल्लेख गरेपछि नेपालको सहमति नलिईकन कसरी चीन र भारतले नेपाली भूभागबारे सहमति गर्न सक्छन् भन्ने प्रश्न जनस्तरमा उठ्यो तर नेपाल सरकारले दृढतापूर्वक यो कुरा उठाएन ।

मैले चीन भ्रमणमा गएका बखत चिनियाँ कूटनीतिज्ञहरूसँग यसबारे प्रश्न उठाउँदा उनीहरूले भारतले लिपुलेक आफ्नो भूभाग भएकोे हुँदा यहीँबाट ब्यापारिक मार्ग खोल्न सकिन्छ भनेपछि संयुक्त प्रेसिवज्ञप्तिमा त्यो बुँदा परेको हो , यसमा भएको गल्ती सच्याउन नसकिने होइन स तपाईंहरू कि काठमाडौँ स्थित चिनियाँ राजदूतावासमार्फत् आउनुस् कि आफ्नै देशको परराष्ट्र मन्त्रालयमार्फत् ।

सरकारले चीन र भारतले संयुक्तरूपमा लिपुलेकमा गरेको अतिक्रमणबाट ती दुई मुलुकलाई पछि हटाउन आजसम्म केकस्ता प्रयासहरू गर्यो ? यसबारे मैले त कुनै जानकारी पाएको छैन । यसबारे पत्रकार मित्रहरूले परराष्ट्र मन्त्रालयसँग सोधपुछ गरिदिनुभए हामी नेपाली जनता उपकृत हुने थियौँ ।