महान जनविद्रोहको रणनीतिमा किराती नेतृत्वको माओवादीको राष्ट्रियताको आन्दोलन…

तत्कालिन मुद्धाः टिष्टा–काँगडा फिर्ता

काठमाडौं । गोपाल किरातीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) महान जनविद्रोहको रणनीतिमा आफ्नो आन्तरिक तयारीसहित अघि बढेको छ ।

माओवादी केन्दका अनुसार जनविद्रोहको उठान राष्ट्रियताको आन्दोलन मार्फत सम्भव हुने ठहर गर्दै आफ्नो रणनीतिमा अघि बढेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा उक्त पार्टीका अध्यक्ष गोपाल किरातीको भनाई उद्घृत गर्दै बलराम तिमिल्सैनाले त्यस्तो विषय उल्लेख गरेका छन ।

उनले नेपाललाई ध्वस्त पार्न इन्डो प्यासिफिक रणनीति आएको र त्यस रणनीतिको उपाध्यक्षको भूमिकामा भारत देखिएको अवस्थामा महान जनविद्रोहको रणनीतिमा माओवादी केन्द्र अघि बढेको उल्लेख गरेका छन ।

उनले खड्ग ओली सरकारले दलालीकरणको पराकाष्ठा नाघेको भन्दै यहि अवस्थाबाट जनतालाई बुझाउँदै टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा उठान गर्ने तयारीमा उक्त पार्टी रहेको समेत उल्लेख गरेका छन ।

नेपालमा राष्ट्रिय स्वाधीनताबारे सघन बहस उठान चलाउँदै सबै देशभक्तहरु एकताबद्ध भएर जनक्रान्तिको मार्ग सुदृढ गर्नु अपरिहार्यता रहेकोमा जोड दिएका छन । उनको स्टाटसको पूर्णपाठ यस्तो छ…

नेपाललाई ध्वस्त पार्न इन्डो प्यासिफिक रणनीति आएको, त्यस रणनीतिको उपाध्यक्षको भूमिकामा भारत देखिएको र खड्ग ओली सरकारले दलालीकरणको पराकाष्ठा नाघेको पृष्ठभूमिमा महान जनविद्रोहको रणनीतिमा नेकपा (माओवादी केन्द्र) ले टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा उठाउने निर्णय गर्यो । टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दा उठाउने पहिलो राजनीतिक दल, त्यसमा पनि कम्युनिस्ट पार्टीको यो पहिलो निर्णय हो ।

फेरि टिष्टा–काँगडा फिर्ता आन्दोलनको मुद्दाले नेपालमा राष्ट्रिय स्वाधीनताबारे सघन बहस उठान गर्ने र देशभक्त जनक्रान्तिको मार्ग सुदृढ गर्ने अपरिहार्यता निश्चित गर्छ । यसरी देशभक्तहरु, विशेषतः खस–आर्यको मनोविज्ञान सम्बोधनबाटै देशभक्तिपूर्ण महान जनविद्रोह उठान वस्तुसङ्गत बन्छ ।

-गोपाल किराती