पढ्नै पर्ने रचनाः जनताको रगत पिउने सत्ता ! शिकारी सत्ता !!

‘सत्ताको भान्सामा, मान्छेको मासु…’

‘जनताको रगत पिउने सत्ता ! शिकारी सत्ता’

-शिकारी शिकार खेल्न, जङ्गलतिर पस्छ
सत्ता शिकार खेल्न, गाउँतिर पस्छ
एक पटक, मान्छेको रगत पिएको शिकारी
कहिलै जङ्गल पस्दैन
सत्ता त्यस्तै शिकारी हो !

-नपत्याए, प्रहरी र सैनिकलाई सोध
आजसम्मको हताहतीको विवरण हेर
सत्ताको बन्दूकबाट, कति बाघ मरे कति भालू मरे ?
कति चिल मरे कति गिध्द मरे ?
र कति मान्छे मरे, सत्तालाई सोध !

-वर्षैपिछे, विदेशबाट मगाइएका बन्दूकहरू
गोलीहरू बमहरू, किन मगाइएका हुन ?
अरवौं खर्च गरी गरी, सेनाहरू प्रहरीहरू किन पालिएका हुन ?
किन सिकाइन्छ तिनीहरूलाई, छात्तीको देव्रेपट्टी निशाना लगाउँन ?

-सत्ताको भान्सामा, सँधै मान्छेको मासु पाक्छ
सत्ता सँधैभरी, पानीको सट्टा रगत पिउँछ
आँसुको पोखरीमा नुहाउँछ !
मर्दै गरेका मानिसहरूको, चित्कारको सङ्गीत सुन्छ
र मान्छेका लासहरूको पलङमा, सत्ता मस्त निद्रा निदाउँछ !

-लासको पलङबाट बिउँझेपछि, फेरि सिकारकै योजना बुन्छ
सत्ता शिकारकै सपना देख्छ, मान्छेको शिकार गर्नु पर्ने
जव युग समाप्त हुन्छ, त्यही दिनबाट रोकिन्छ
सत्ताको भात भान्सा, र सत्ता बिस्तारै मर्छ !
आजसम्मका, अधिकाङ्स सत्ता
मान्छेका शिकारी सत्ता थिए !!

मितिः २०७६/०३/२६

(यो साहित्यीक सामाग्रीको रचनाकार बलाराम तिमिल्सेना हुन । उनी सामाजिक व्यवस्था रुपान्तरणको पक्षमा कलम चलाउने गर्दछन ।)