नेकपामाथिको प्रतिबन्ध-चिरफारः साम्राज्यवादीको इशारामा कम्युनिस्ट विरोधि हर्कत !

चुनाव खारेज अभियानको समीक्षासहित

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै नेपालमा साम्राज्यवादी इशारामा कथित कम्युनिस्टहरूको गठबन्धनमा के सरकार बनेको थियो, एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेको छ । यो विश्व परिवेशमा नौलो र पहिलो घटना नभए पनि नेपालमा चाहिँ पहिलो हो । ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै लाजै नभएका बेसर्मी नकटाहरूको के कुरा गर्नु र ‘आचीलाई ढुङ्गा हान्दा छिटो नाकमा’ भनेजस्तै भनौँ भने छिटो लाग्ने, नभनौँ भने यिनले नगर्नु बेइज्जति गरिरहेका छन् । नाक छोपेर पनि ढुङ्गा फाल्नुपर्ने स्थिति आउनु भनेको दुःखद् र लाजमर्नु भएको छ । यति बेला सामाजिक दलाल पुँजीवादीहरू कथित कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टहरूको बदनाम गरिरहेका छन् । दुई तिहाइको सरकार भनिएको कथित कम्युनिस्ट सरकार असफल मात्र होइन, जनता र विश्व जगत्बाट समेत बदनाम भएको छ । आफ्नो असफलता र बदनामीको ढाकछोप गर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउन पुगेको छ । यसले केही आतङ्क र केही भ्रम उत्पन्न गरेको छ ।

हामीले निरन्तर भन्दै आएका छौँ– यी कम्युनिस्ट होइनन् र यिनको नेतृत्वमा बन्ने सरकार कम्युनिस्टहरूको सरकार होइन । यो केवल कम्युनिस्टहरूको बदनाम गराउन साम्राज्यवादीहरूद्वारा अघि सारिएको सामाजिक दलाल पुँजीवादीहरूको सरकार हो । यसबाट समाजवाद, विकास, समृद्धिको आस गर्नु गोरु दुहेर दूधको आशा गर्नुसरह हो, बरु यिनीहरु आएपछि अझ महँगी, भ्रष्टाचार, कमिसन, राष्ट्रघात, जनघात, लुटखसोट दस गुणा बढेको छ । दमन र हिंसात्मक गतिविधिलाई बढाएका छन् । सरकारी गुण्डागर्दी र भिडन्तका नाममा साधारण जनता र देशभक्त, क्रान्तिकारीहरूको गाउँ गाउँ, सहर बजार सादा पोसाकमा कुन बेला कसको हत्या गर्ने हुन्, थाहा छैन । बेलगाम वैधानिकता दिएको छ सरकारले हत्या र हिंसालाई । नागरिकहरूले पनि यस्तै गर्र्दै गए भने देश कता जाला ? अब यो सरकारले जिम्मा लिनुपर्छ । अुाजभन्दा दुई वर्षअगाडि २०७४ असारमा साम्राज्यवादी डिजाइनमा सम्पन्न गरिएको कथित केन्द्र (सङ्घ) तथा प्रदेशको चुनाव खारेज अभियानको समीक्षासहित बसेको आठौँ पार्टी केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा यसबारे बिभिन्न कोणबाट छलफल गरेका थियौँ । छलफलका केही विषय यस्ता थिए –

१) माके–एमालेलगायत कथित वाम गठबन्धनको पछाडि पहिलो उनीहरूको आन्तरिक बाध्यता छ र दोस्रो बाह्य साम्राज्यवादी डिजाइन र दबाब छ । यी ढिलोचाँडो पार्टी एकतासम्म पुग्नेछन् र साम्राज्यवादीहरूले चाहेमा कुनै पनि बेला फुटाउन सक्छन् ।

२) कथित निर्वाचनको परिणामअनुसार वाम गठबन्धन दुईतिहाइ बहुमतको नजिक छ । त्यसैले कतिपय सानातिना दलहरूको समर्थनमा दुईतिहाइ बहुमतको सरकार बनाउन सक्छन् । साम्राज्यवादीहरू भित्री मनले नमान्दानमान्दै पनि एकपटक संशोधनवादी र सुधारवादी नै भए पनि दलाली र आत्मसमर्पण गराई वाम गठबन्धन नेतृत्वमा सरकार बनाउन सक्छन् ।

३) यो कथित वाम सरकारलाई प्रथमतः सरकारमा नलानेमा नै उनीहरूको जोडबल हुनेछ तर एकपटक सरकारमा लानैपर्ने स्थितिमा उनीहरूको कदम पहिलो आत्मसमर्पण गराउने र पूरै आफ्नो टाङमुनि छिराउने हुनेछ र आफ्नै निर्देशनमा चलाउन खोज्नेछन् । दोस्रो यसलाई पूर्ण अवधि ९पूर्ण पाँच वर्ष सरकारको नेतृत्वमा टिक्न दिने छैनन् । तेस्रो टिकाउनै पर्ने बाध्यकारी स्थिति बनेमा कम्युनिस्ट नाममा जनताबाट बदनाम गराउने र सफल हुन नदिने नीति नै अख्तियार गर्नेछन् । चौथो जति गर्न खोजे पनि यो कथित वाम सरकार पुँजीपति वर्गको दलाल भएकाले यसको दलाल चरित्रले यिनीहरू अझ भ्रष्ट र सङ्कटग्रस्त भएर जानेछन् ।

४) अहिले जेजस्तो बाध्यकारी परिस्थिति बने पनि तत्काल पहिलो उनीहरू माओवादीको नामसम्म सुन्न नहुने गरी विघटनको बिन्दुसम्मका लागि एकतामा जोड गर्नेछन् र त्यसपछि फेरि टुक्र्याउन र क्रान्तिकारीहरूलाई दमन गर्न सजिलो र नयाँ जोगी पनि भएकाले प्रचण्ड नै उनीहरूका लागि सबभन्दा उपयुक्त र सहज साधन बन्न सक्छ ।

५) संसदीय सिन्डिकेटका लागि बनेको संसद्वादी कम्युनिस्टहरूको कथित वाम गठबन्धन लेनिनले भन्नुभएको नेपाली मार्काका ‘सामाजिक दलाल पुँजीवाद’ का रूपमा उदाएको छ । यसले नेपालमा तीन राजनीतिक धार खडा गरेको छ– ‘दलाल पुँजीवाद, सामाजिक दलाल पुँजीवाद र क्रान्तिकारी राजनीतिक धार ।’ दलाल पुँजीवादको नेतृत्व नेपाली काङ्ग्रेसले, सामाजिक दलाल पुँजीवादको एमालेले र क्रान्तिकारी धारको नेतृत्व हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले गर्नेछ । अबको दिनमा नेपालमा राजनीतिक दृष्टिकोणले त्रिकोणात्मक राजनीतिक सङ्घर्ष चल्ने छ ।शक्ति सङ्घर्षको हिसाबले भने सत्ताधारी वर्गसँग दुई वर्गबीचको शक्ति सङ्घर्ष मुख्य हुनेछ ।

६) यसमा थप अहिले सरकारी योजनामा सीआईबीका नाममा खुला रूपमा विपक्षी नेता– कार्यकर्ताको हत्या र राज्यआतङ्क बढ्ने छ भन्ने कुरालाई त्यति बेला पेटबोलीमा मात्र राखिएको थियो जुन अहिले प्रधान बनेर आएको छ ।

अहिले दुई वर्षपछि आउँदा हाम्रो त्यो छलफलमा उठेका विषयहरू सही साबित हुन आएका छन् । यति बेला सरकारमा सामाजिक दलाल पुँजीवादीहरू छन् । उनीहरूले बाह्य शक्तिको आडमा देशभक्त, क्रान्तिकारीहरूमाथि दमन अभियान सञ्चालन गरेका छन् । देश बचाउने र जनताको सेवा गर्ने होइन सत्तास्वार्थ र कुर्ची ९मस्ती० जोगाउन, साम्राज्यवादी मालिकहरूलाई रिझाउन र खुसी पार्न यो हर्कत गरिरहेका छन् । नेपाली काङ्ग्रेस अहिले प्रतिपक्षमा छ । प्रतिपक्षमा भएकाले होला नेपाल कम्युनिस्ट पार्टीमाथि आक्रामक छैन तर कम्युनिस्ट अधिनायकवादका नाममा सैद्धान्तिक रूपले एकैचोटि एक गोलीले दुई चराको सिकार गर्नचाहिँ पछि परेको छैन ।

यो वैचारिक सङ्घर्ष हो । यसलाई वैचारिक रूपबाटै समाधान गर्नु पर्दछ । तत्काल भने कथित कम्युनिस्टहरूको सरकार सत्ता र दमनमा उत्रिएकाले उनीहरूको फासिवादी दमन र कम्युनिस्टको बदनाम गरिरहेकाले उनीहरूसँगको वैचारिक सङ्घर्षको प्रतिरोध सङ्घर्ष अहिलेको सङ्घर्षको मूल दिशा बन्न गएको छ । यति बेला राज्यपक्ष प्रतिबन्धका नाममा हाम्रो पार्टीमाथि दमनमा उत्रेको छ । हाम्रो पार्टी यसको प्रतिरोध सङ्घर्षमा छ । उनीहरूको पहिलो निशाना हाम्रो पार्टीको नेतृत्व, सक्रिय नेता–कार्यकर्तामाथि छ । उनीहरू हाम्रो पार्टीबाट निकै भयभीत छन्, आतङ्कित छन् । त्यसकारण उनीहरूले आतङ्ककारीको बिल्ला भिराउने दुष्प्रयास गरिरहेका छन् । उनीहरूले हाम्रो पार्टी र हाम्रो विचारबाट पराजित भएका छन् । त्यसकारणले उनीहरू विचार र गतिविधिमाथि प्रतिबन्ध लगाउन पुगे । विचार अभिव्यक्त गर्न र त्यसलाई जनता र सङ्गठनमा लैजान नदिँदाको परिणाम नै प्रतिरोध बन्न पुग्छ । यो कुरा प्रचण्ड–केपीहरूले राम्ररी बुझेका छन् । तर आज प्रचण्ड–केपीहरू किन यति धेरै निरङ्कुश बन्दैछन् भन्ने प्रश्नमा जनता अनभिज्ञ छैनन् । क। माओले उहिल्यै यिनको जात औँल्याउँदै ‘कम्युनिस्ट बिग्रिए भने कामै नलाग्ने कुहिएको अण्डा वा कुहिएको फर्सी जस्तै हुन्छन्’ भन्नुभएको थियो । आज केपी–पीकेहरू यस्तै कुहिएका अण्डा वा फर्सीजस्तै भएका छन् जुन बाहिर हेर्दा दुरुस्तै उस्तै देखिन्छ तर भित्रको जैविक तत्व कुहिएर प्रदूषित बनेको हुन्छ जो कतै काम लाग्दैन । आज सरकारमा र राज्यबाट देखा पर्ने सबै विकृति–विसङ्गतिहरू यही दुर्गन्धका परिणाम हुन् ।

यी अब सडकमा प्याट्ट फुटेर जान मात्र बाँकी छ, त्यो दिन पनि कुर्न धेरै दिन पर्खनु नपर्ला । यस विषयमा हामीभन्दा पनि नागरिक समाज, स्वतन्त्र बुद्धिजीवीहरू, विषयविज्ञहरू, वकिल, पत्रकार, मानवअधिकारकर्मीहरू खुला रूपमा यसको विरोध गरिरहनुभएको छ । म हाम्रो पार्टीका तर्फबाट सरकारको विरोध गरेको र हाम्रो पक्षमा बोल्नुभएकाले होइन, देश र जनताका पक्षमा, सत्यका पक्षमा र गलतको विरोधमा बोलिरहनुभएको छ । यस अर्थमा धन्यवाद दिन चाहन्छु किनकि जब देश सङ्कटमा फस्छ, राज्यको स्वेच्छाचारिता बढ्छ, जब राष्ट्रियतामाथि आँच आउँछ, जब जनताका अधिकारहरू खोसिन्छन् र समाज र राष्ट्र प्रतिगमनको सिकार बन्न पुग्छ त्यसबेला देशका सचेत बुद्धिजीवी र नगरिक समाज, सचेत युवाहरू, देशभक्त–क्रान्तिकारीहरूको खाँचो पर्दछ । यति बेलासम्म आउँदा हामीलाई समाज, जनता र राष्ट्रका पक्षमा बोल्दा, उभिँदा जेल, नेल, झूट्ठा मुद्दा, हत्या र प्रतिबन्धसम्म लगाउन पुगे । हामी एक्लोएक्लो महसुस गरिरहेका थियौँ । यो देशमा देशभक्त, बुद्धिजीवी, सचेत, न्यायका पक्षमा उभिने नागरिकको खडेरी भएको महसुस भैरहेको थियो । के देशका निम्ति मर्ने र जेलनेल सहने ठेक्का हामीले मात्रै लिएका छौँ भन्ने कहिलेकहीँ सोच्न बाध्य बनाउँथ्यो परिस्थितिले, चारैतिरबाट आक्रमणको घेरामा पर्दा र अरू सबै चुप बस्दा । तर खुसीको कुरा अहिले हामीले एक्लो महसुस गरेका छैनौँ ।

केही सत्य बोल्दा पत्रकार हरूको खुट्टा हिरासतमा भाँचिन्छ, कुटिन्छ, सत्य र यथार्थ बोल्दा कसैलाई पागलको संज्ञा दिइन्छ भने यो देशमा एकपटक सबै बौलाउनुपर्ने, सत्य बोल्दा गोली हानिन्छ र मुठभेडको नाम दिइन्छ भने अब सबै एकपटक साँच्चैको मुठभेडमा जानुपर्ने स्थिति आइपुगेको छ । एकपटक सबै बौलाऊँ, के फरक पर्छ ? त्यसै मरिन्छ भने एकपटक सबै मर्न तयार होऔँ । जीवनमा एकैपटक मर्ने हो । पटकपटक मरिँदैन । अन्यायलाई न्याय, न्यायलाई अन्याय बनाउने कानुनको के खाँचो ? लेखिएको संविधान मानिँदैन भने संविधानको के खाँचो ? अपराधीहरू खुला रूपमा सरकारी संरक्षणमा छाती पल्टाएर सरकारी गाडीमा हिँड्ने तर अन्यायमा परेका सयौँ निर्मला पन्तका आमाबुबाहरूले सास्ती भोग्नुपर्ने, बौलाउनुपर्ने, देश र जनताका पक्षमा बोल्ने सबैलाई झूट्ठा मुद्दामा जेल पठाउने हो भने सबै एकपटक जेल जाऊँ, जेल तोडौँ । के फरक पर्छ ? जनताका निरपराध, निर्दोष छोराछोरीलाई मात्र थुन्ने जेलको के आवश्यकता ? अब यो दिन आउन सक्छ कुनै दिन ।

हाम्रो पार्टी अन्त्यसम्म यो दलाल राज्यसत्ताको, यी अन्यायपूर्ण दमन, राज्यआतङ्क र यसले पैदा गरेका विकृतिहरूका विरुद्ध लडिरहनेछ, लडिरहन्छ । जबसम्म जनताका पक्षमा राज्यसत्ता स्थापना हुँदैन, यी सबै अन्यायपूर्ण कार्यहरू, राजनीतिक गतिविधिहरू भई नै रहनेछन् । हामी यसको विरोधमा आउने सबै पक्षसँग औपचारिक–अनौपचारिक वार्ता, छलफल, अन्तरक्रिया, कार्यगत एकता, सहकार्य गर्न हरदम तयार छौँ । यो हाम्रो पार्टीनीति पनि हो । राज्यको दमन र अन्यायपूर्ण कदमका बारेमा मिल्ने विषयहरूमा मिल्ने शक्तिहरूसँग तात्कालिक र दीर्घकालिक रूपले कार्यगत मोर्चा वा कार्यगत एकता गरेर जान पनि हाम्रो पार्टी तयार छ । मित्र शक्तिहरूसँग हामी मित्रवत् ढङ्गले देश र जनताका खातिर जे पनि गर्न हामी तयार छौँ तर देश र जनताका विरुद्ध हामी एक औँस पनि शिर झुकाउन तयार छैनौँ चाहे सहिद किन नबनौँ रु हाम्रा ५० हजार पार्टी सदस्य छन् । ५ हजार कार्यकर्ता छन् । केपी वलीले फ्रान्समा गएर त्यहाँ बस्ने नेपालीहरूले सोधेको प्रश्नको जबाफमा के भने रे भने ‘विप्लवलाई गोन्जालो बनाइन्छ । विप्लवका ५०० कार्यकर्ता नियन्त्रणमा आएका छन्, १००० पुगे भने सकिन्छन् । यस्तो बोल्ने मान्छे त प्रधानमन्त्री बनेका छन् । विप्लवका एक लाख मारे पनि नेपालमा क्रान्ति रोकिँदैन । यो सम्झिराखे हुन्छ– कसैले दमन, हत्या र गिरफ्तार गरेर सकिन्छन् भन्ठान्छन् भने यो नै हद मनोगत र अबुझ, पटमूर्ख र मानसिक अवस्था असन्तुलित भएकाले गर्ने तर्क पनि नभनौँ चित्कार हो । पागलप्रलाप हो ।

हामीले आफ्नो विचार र दृष्टिकोण प्रस्ट राख्दै आएका छौँ– हामी यो नालायक सरकारको मात्रै होइन, यो सत्ता र यो संविधानकै खारेजीको माग गर्दै आएका छौँ । आज हामीले दोस्रोपटक आतङ्ककारीको बिल्ला पाएका छौँ । हिजो पनि साम्राज्यवादी मालिकहरूको योजनामा नेपाली काङ्ग्रेस र एमाले–काङ्ग्रेस कम्पनीबाट र आज एमाले–माके कम्पनीबाट । यसमा धन्यवाद दिनुपर्छ ‘नकारात्मक गुरु’ हरूलाई । किनकि गुरुको बाजाअनुसार नै चेलो नाच्छ । हिजो माओवादी पनि यसरी नै भएको थियो । यो कम्पनी नयाँ संस्करण भएकाले हुन सक्छ, हिजोको कम्पनीलाई उछिनेको छ । नियम पनि यही हो नयाँ जोगीले बढी खरानी घस्छ । यो उखानको अपवाद यिनीहरू पनि भएनन् । वास्तवमा आतङ्ककारी हामी होइन, उनीहरू नै हुन् । हामीले भनेको त पहिलो वैचारिक हिसाबले यी कम्युनिस्ट होइनन्, सामाजिक दलाल फासिवादी हुन् । यिनबाट विकास र समृद्धिको कल्पनासम्म गर्न सकिँदैन । उनीहरूको समाजवाद भ्रम मात्र हो । त्यसैले यी सामाजिक दलाल फासिवादी हुन् मात्र भनेको हो । दोस्रो, हामीले भनेका छौँ भ्रष्टाचारीले देश र जनता लुटेका छन् । यिनलाई कार्बाहरू गर । तर कारबाही गर्नुको सट्टा महाभ्रष्टाचारी लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए । त्यसपछि हामीले देशैभर साङ्केतिक रूपमा केही भ्रष्टाचारीहरूलाई कसुर प्रमाणित गरी कारबाहीहरू ग¥यौँ । अपर कर्णाली, अरुण ३ लगायत राष्ट्रघाती परियोजनाहरूको विरोध गयौँ । त्यो नसुन्दा साङ्केतिक कारबाहीहरू गयौँ । अझ नसुने थप कारबाही जरुरी हुन सक्छ किनकि यी नेपालीका सम्पत्ति हुन् र विद्युत्का नाममा विदेशी सेनामा ब्यारेक ल्याउने साम्राज्यवादी योजना दोब्बर घातक छ । हामीले अर्बौंको कर नतिर्ने एनसेलमाथि कारबाही गयौँ । के बिगायौँ ? के हामी र हाम्रो पार्टी नभएको भए यहाँ यी भ्रष्टाचारीहरूमाथि हात हाल्ने आँट कसैले गथ्र्यो ?

ठीक छ कसैले यो काम गर्नुहुन्छ भने हामी चुप बसौँला । मर्नु, थुनिनु, यातना खानु, घाइते हुनु, घरव्यवहार चौपट पारेर राष्ट्र र जनताका निम्ति खाइनखाई, लाइनलाई हिँड्नु केको कर थियो र ? यो एउटा सचेत मान्छेले र त्यागी मान्छेले मात्र गर्ने कार्य हो । यो काम गर्न जोकोही तयार हुँदैनन् किनकि यो धेरै जोखिमपूर्ण काम हो । सजिलो भएको भए काटिनसकिने यी राजनीतिक दलका नेताहरू कोही न कोहीले गर्थे होलान् । पढेलेखेका भनिएका, विद्वान्, विज्ञहरू भनिएकाहरूले गर्थे होलान्, किन गरेनन् रु अप्ठ्यारो छ । भन्न त डराउँछन्, गर्न त के हिम्मत ? यत्रो ३ करोड नेपालीमा भन्ने आँट गर्ने विप्लव मात्र किन ? दुईचारजना विद्वान्, बुद्धिजीवी, अधिकारकर्मी, वकिल र पत्रकार मात्र किन रु यति बेला चाहिन्छ आँटिला नेता, आँटिला बुद्धिजीवी, पत्रकार, वकिल, अधिकारकर्मी जसले आँटिला काम गर्नुभएको छ उहाँहरूको म प्रशंसा गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु किनकि अप्ठ्यारो बेलामा हो बोल्ने । सजिलो बेला त हजारौँ हुन्छन् बोल्ने, हजारौँ हुन्छन् उभिने । खहरेको पानीको महत्व हो, वर्षाको भेलको होइन । यति बेला विप्लवका पक्षमा, राज्यआतङ्क, भ्रष्टाचार, तमाम विकृतिविसङ्गतिका विरुद्ध पक्षमा बोल्ने सीमित मान्छेहरू खडेरीका चिसो र मीठो पानी हुन् । नदीका अटुट पानी हुन् । गत फागुन २३ गते कपिलवस्तुका दुर्गा रोकायालाई चौकीको ट्वाइलेटभित्र लगी गोली हानियो ।

त्यस्तै भोजपुरमा तीर्थराज घिमिरे र सर्लाहीमा कुमार पौडेलको समातेर गोली हानी तीनैजनालाई मुठभेडको सङ्ज्ञा दिए, ६० लाख युवालाई विदेश पठाएर तिनीहरूको श्रम र पसिनाबाट आएको रेमिट्यान्समा बाँच्नेहरू, जनताको पसिना र श्रमबाट जम्मा भएको करमा बियर चियर्स गर्दै डिनर खाँदै देश बेच्ने, नदीनाला बेच्ने, निर्मला पन्तजस्ता हजारौँ हाम्रा चेलीछोरीहरूको इज्जत लुटेर हत्या गर्ने, जनताका नाममा विदेशले दिएको ऋण जनताको टाउकोमा थोपदै भ्रष्टाचार गर्ने, के यिनी होइनन् हत्यारा, आतङ्ककारी, विध्वंशकारी रु यसको विरोध गर्ने, राष्ट्र र जनताका पक्षमा बोल्ने, सम्पूर्ण चीज त्यागेर हिँड्नेहरू कसरी आतङ्ककारी हुन्छन् ? वास्तवमा दस वर्षको जनयुद्धपछि हामी अलि नयाँ ढङ्गले वार्ता र सहमतिमा आएकै हो । १२ बुँदे सहमति हुँदै करिब ८ वर्ष शान्तिप्रक्रियावाट अन्तिमसम्म हरउपायहरू खोजेकै हौँ । त्यसबेला शान्ति भाँड्ने र सहमति लागू नगर्ने, जसरी पनि आत्मसमर्पणमा लैजानेमा जोरजुलुम गर्नेहरू तत्कालीन नेपाली काङ्ग्रेसका नेताहरू र एमालेका नेताहरू नै थिए । विदेशी साम्राज्यवादको डिजाइन त छँदै थियो तर हामीले निकै संयमित र पछि हटेर भनेकै थियौँ– विदेशीहरूको कुरा छोडिदिऊँ ।

हामी नेपाली राजनीतिज्ञहरू, विषयविज्ञहरू सबै गोलमेचमा बसेर नेपाली मोडेलको नयाँ राज्यको शासकीय स्वरूप, संरचना, विधि–विधान, संविधान, नेतृत्व, राष्ट्रिय सुरक्षा, निर्वाचनप्रणाली, विकासको मोडेल तय गरौँ । महिनौँ दिन लागोस् तर यसरी सबै बसेर नयाँ राष्ट्रिय सहमति खोजौँ ताकि भोलि फेरि अर्को हिंसात्मक खालको सशस्त्र सङ्घर्ष वा युद्ध नभड्कियोस् । तर उनीहरू एक कदम पनि संसद र संसदीय व्यवस्थाको पुनस्र्थापनाबाट पछि हट्न तयार भएनन् । यसको परिणाम माथि भनिएजस्तै हाम्रो अगाडि दुईवटा बाटाहरू तेर्सिए– आत्मसमर्पण कि विद्रोह रु ठीक यति बेला हाम्रो तत्कालीन नेतृत्व प्रचण्डले आत्मसमर्पणको बाटो रोजे । हामीले विद्रोहको बाटो रोज्यौँ । दुःखको कुरो, हामीले धेरै पछि मात्र थाहा पायौँ प्रचण्डले यतिबेला गरेको आत्मसमर्पण त नाटक मात्र पो रहेछ । उनले त धेरै पहिले २०६२ को चुनबाङ बैठकअगाडि दोस्रो खारा लडाइँमा हारेपछि लगत्तै दिल्ली गएर बाबुराम भट्टराईसहित गोप्य रूपमा अर्को दिल्ली सहमति गरेर आएका रहेछन् ।

यो धेरै पछि मात्र खुलासा भयो । त्यसपछि हामीले एकातिर हाम्रै नेतृत्वका विरुद्ध विद्रोह गर्नु पर्ने र दोस्रो साम्राज्यवादी डिजाइनमा लागिपरेका तात्कालिक काङ्ग्रेस, एमालेका दलाल नेताहरूका बलजफ्तीका विरुद्ध सिङ्गो सत्तासँग पनि विद्रोह गर्नुपर्ने दुवै अभिभारा हाम्रो काँधमा आयो । यो अभिभारा पूरा गर्न हामीले कमरेड किरण र बादलहरूलाई पनि निकै सहयोग गयौँ । अन्ततः यो गह्रौँ, जोखिमपूर्ण र विवेकपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न नेताहरू हिच्किचाए । कोहीले त पछि आत्मसमर्पणको दिशा पकडे । यस बेलामा कमरेड विप्लवले देश र जनताको मुक्तिका लागि साहसिक कदम उठाउनुभयो । सायद यो अभिभारा जोकोहीले पूरा गर्न पनि सक्दैनथे । यो महान् कार्य थियो । यहाँसम्म आउँदा प्रचण्डकै भाषामा ‘प्रचण्ड यति स्थापित भएको छ कि प्रचण्डलाई २० वर्ष कसैले नछोए हुन्छ । जो प्रचण्डसंग टकराउन आउँछ ऊ ध्वस्त हुन्छ । जसरी आलोक, मातृका, रवीन्द्र, मणि थापाहरू भए ।’ पहिलो खरिपाटी भेलाताका प्रधानमन्त्री हुने बेला स्वयम् मलाई बालुवाटार भेटघाट कक्षमा भनेको तर प्रचण्डलाई हामीले छाडेपछि जुम्राले मुर्दालाई छाडेजस्तै भयो र २० वर्ष हैन ५ वर्ष नहुँदै एमालेमा विलीन भएर आज एमालेमा कुर्सीका लागि मरिहत्ते गरी अध्यक्ष वा प्रधानमन्त्रीका लागि लडिरहेका छन् । आज उनी बिचरा भन्ने ठाउँमा पुगेका छन् । बाहिर साम्राज्यवादको एक नं को दलाल बनेर नेपाली क्रान्ति दबाउन अग्रपङ्क्तिमा छन् । हामी र हाम्रो पार्टीमाथिको प्रतिबन्ध यसैको द्योतक हो ।

(यो लेख विप्लव नेतृत्वको नेकपाका नेता बुढामगरले इ–रातोखबरका लागि लेखेका हुन । हामीले त्यसबाट साभार गरेर प्रकाशन गरेका छौं ।)