सेना हस्तक्षप र राजतन्त्र फर्किनेबारे हल्ला: सम्भावनाको नापतौल

बन्दूकले जनअपेक्षा रोक्न खोजे विद्रोह निश्चित

तत्काललाई सेनाले हस्तक्षेप गर्ने, राजा फर्केर आउँने या अर्को सरकार बन्ने भन्ने हल्लाहरू वेकारका हल्ला हुन्। हाललाई जे जे विपत्तिहरू आउँछन् ती सवै केपी ओलीको काँधमा चढेरै आउँछन्। किन कि राजाको अनुपस्थितिमा उनले गर्नु पर्ने प्राय काम केपी ओली मार्फत मजाले भैरहेकै छन्। जहाँसम्म सेनाले हस्तक्षेप गर्ने भन्ने कुरा छ । देशमाजति समस्या भए पनि चुनावबाट आएको दुई तिहाईको सरकार रहेको अवस्था र सरकार संचालन गर्ने पार्टी इन्ट्याक रहेको अवस्थामा सेनाले प्रत्युत्पादक कदम उठाउँछ भनेर सोच्नु अराजनीतिक सोच हुन्छ।

जहाँसम्म भारतको कुरा छ, उसले पूर्व राजालाई तिमीलाई पुनर्स्थापना गरी दिन्छु, त्यसको वदलामा तिमी वाङचूक जस्तै बनिदेऊ र नेपाललाई भूटानजस्तै गरी चलाऊँ भनेर प्रस्ताव राख्न सक्छ । उसले यसरी प्रस्ताव राखे पनि र ज्ञानेन्द्रलाई उक्त प्रस्ताव मजा लागे पनि उनले अर्को चुनावको नतिजासम्म पर्खौं भन्नुको विकल्प छैन। किन कि राजा हुने हुटहुटीले दाजुको वङ्श विनास गरेर श्रीपेच भिरेर पूरै सेनाको वलमा निरङ्कुश शासन चलाउँदा पनि जम्मा जम्मी राजगद्दीमा कति बस्न पाइयो भन्ने याद उनलाई छ।

भारतले प्रचण्डलाई तिमी केपी ओलीसँग फुट, काङ्ग्रेस र मधेशवादीसँग मिलाएर तिमीलाई प्रधानमन्त्री बनाइदिन्छु भनेको हुन सक्छ । भारतको यो प्रस्तावले प्रचण्डको भोक निद्रा सवै हराएको हुन सक्छ । तर उनले पनि भारतलाई केपी ओलीको आधा कार्यकालसम्म पर्खौं भन्नुको विकल्प छैन । भारतले सेनालाई पनि हरियो बत्ती वालेको हुन सक्छ । तर सेनाले पनि गणतन्त्रको स्वाद चाखिसकेका जनतालाई बन्दूकले तह लगाउँन खोजियो भने सिङ्गै जनता विद्रोहतिर लाग्छन् र त्यसो गर्दा विप्लवको विद्रोहलाई मलजल पुग्छ भनेर हिसाव गरेको हुनु पर्छ।

त्यसैले बजारमा हल्ला गरे अनुसार केही पनि आउँदैन । जे आउँछ त्यो केपी ओलीको काँध चढेरै आउँछ । जे आउँछ त्यो सेना, पूर्व राजा र भारतलाई खुसी पार्ने र जनतालाई चिढ्याउँने कुरा नै आउँने छ। आजका हल्लाहरू तीन चार वर्षपछिको लागि तयारीहरू हुन। अब हुने सङ्घीय चुनावपछि भने कसैले बहुमत ल्याउँने छैन।सरकारी नेकपाको हालत सत्तरीको माओवादीको हुने छ। काङाग्रेसले दुई चार सिट थप्ने छ तर बहुमतमा पुग्ने छैन । राप्रपाले केही फाइदा उठाउँने छ तर बढीमा ऊ तेश्रो शक्ति नै हुने छ ।

मधेशवादीहरूले अलि अलि बढाउँने छन् तर त्यो सत्ता साझेदारीमा मन्त्रीहरू बढी माग्ने भन्दा धेर हुने छैन । विद्रोही नेकपाले आफूलाई परिमार्जन गर्यो भने उसको स्थिति थप मजवुत हुने छ । यसरी हङ पार्लियामेन्ट बन्ने छ र सरकार बनाउँने र भत्काउँने खेलो बढ्ने छ । सांसदको किनबेचको पुरानो नाटक दोहोरिने छ । जनताको पार्टी र व्यवस्थाप्रतिको अविश्वास र घृणा गुणात्मक रुपमा बढ्ने छ । यही भद्रगोलमा गोल हान्न विभिन्न शक्तिहरू मैदानमा छिर्न कोशिश गर्ने छन्। कोशिश दरवारीयाहरूले पनि गर्ने छन् । भारतले आफ्नो मजवुत गोटी चाल्ने छ । अमेरिका, चीन र युरोपियन युनियन पनि छिर्ने छन् । सेनाले पनि मुखमा थुक जम्मा गरेर निल्न थाल्ने छ।

त्यो वेला क्रान्ति र प्रतिक्रान्तिको मैदानमा भेट हुने छ। त्यो भेट निर्णायक हुने छ या एकाध फायर गरेर पछि हट्ने हुनेछ भनेर अहिलै भन्न सकिन्न।तर तीन चार वर्षपछि आन्तरिक द्वन्द अहिलेभन्दा धेरै बढ्ने छ। त्यो वेलामा दरवारीया शक्तिहरूको दाऊ राजाको अगुवाईमा, राप्रपा, काङ्ग्रेसभित्रको चरम दक्षिणपन्थी खेमा, सरकारी नेकपाभित्रका राजावादीहरू, सेना सवै मिलाएर भारत र चीनलाई संतुलनमा राखेर पछाडि फर्कने हुने छ भने क्रान्तिकारीहरूले त्यो स्थितिलाई क्रान्तिकारी दिशामा लैजाने कोशिश गर्नु पर्छ । अहिले नै फलानो आउदै छ र चिलानो आउँदै छ भनेर चलाइएको हल्ला मेरो विचारमा आफ्नो असक्षमता ढाकछोप गर्न सरकार तर्फकाले नै चलाएको हल्ला बढी हो।

(लेखक तिमिल्सिना सामाजिक व्यवस्था परिवर्तनका पक्षमा कलम चलाउने गुर्दछन । उनले यो लेख सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए ।)