विश्वविद्यालय, पदाधिकारी, एडम स्मिथ र बढ्दो विकृती

सरकारको चाकरीमा प्राध्यापक

भरत पोखरेल

एडम स्मिथ (१७२३–१७९०) स्कटल्यान्ड निवासी आधुनिक अर्थशास्त्रका जनक, थ्योरी अफ मोरल सेन्टिमेन्टस (१७५९) र वेल्थ अफ नेसन्स (१७७६) का सर्जक, ग्लासगो विश्वविद्यालय तर्कशास्त्रका प्राध्यापक (१७५१) हुन । उनले प्राध्यापन परित्याग गरी १७६४–१७६६ सम्म फ्रान्समा ड्युक अफ बुसेकका प्रशिक्षक मुख्य उद्देश्य प्रकृतिवादीहरू क्वेसने र तुर्गोतलाई अध्ययन गर्ने जिज्ञासा राख्दै अघि बढेका थिए । संसारमा धेरै पढिएका व्यक्तित्वमा उनी पर्दछन्, उनको प्रसिद्धि संसारमा फैलिएपछि इंल्यान्डका प्रधानमन्त्री विलियम पिटले उनलाई इंल्यान्डमा आमन्त्रण समेत गरेका थिए । निमन्त्रणा स्वीकार गरेर एडम स्मिथ लन्डन पुगेका थिए ।

विलियम पिटको सरकारको क्याबिनेट बसिरहेको बेला जब एडम स्मिथ हल भित्र प्रवेश गरे क्याबिनेटमा उपस्थित सबैले उभिएर उनको अभिवादन गरे । एडम स्मिथले प्रधानमन्त्री विलियम पिटतर्फ फर्कंदै कृपया बस्नोस महोदयहरू भने तर विलियम पिटले एडम स्मिथलाई सर तपाईं नबसे सम्म हामी कसरी बस्ने भनेर आदरभाव देखाएका थिए । एउटा प्राध्यापकलाई सत्ताको यस्तो स्वागत गरिएको थियो ।

नेपालमा आज विश्वविद्यालयहरूमा नियुक्तिको चर्चा चलिरहँदा प्राध्यापकहरू हातमा नियुक्तिको निवेदन बोकेर कुलपति अर्थात् प्रधानमन्त्री र उनका मातहतका मानिसहरूको ढोकाढोकामा कुदिरहेका छन् । उनीहरूलाई सरकारले तपाईंहरू बस्नोस हामी योग्य व्यक्तिहरूको नियुक्तिको व्यवस्था गर्छौं भन्छ तर प्राध्यापकहरू बस्न मान्दैनन, नियुक्ति नभएसम्म उनीहरूको बस्ने छाँटकाँट देखिदैन बरु उनीहरू बस्नु भन्दा नियुक्ति नभएसम्म कुदिरहने देखिएका छन् । यही बेला पहिला पद खाएका केही प्राध्यापकहरू नबोकौं झन्डा, नदोहरियोस् भागबन्डा जस्ता लेखहरू लेखिरहेका छन् ।

दलीय राजनीति भएको देशमा निर्दलीय पदाधिकारीहरूको खोजीका लागि अपिल भइरहेको छ जुन प्रयोग असफल भइसक्यो । उदाहरणका लागि एक समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनाइएका प्राध्यापक महिना दिन नपुग्दै पद त्याग गरे भने हालै नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मा पाएका अर्का प्राध्यापक एक वर्ष पनि त्यहाँ टिक्न सकेनन् । यो व्यक्ति भन्दा पनि व्यावस्थाको कमजोरी हो । देशको राज्यसत्ता भ्रष्ट भए पछि जो कुनै व्यक्तिको केही जोर चल्दैन । हिजो प्राध्यापकको आदरमा इंल्यान्डको सरकार उभिन्थ्यो आज सरकारको चाकरीमा नेपालका प्राध्यापकहरू कुदिरहेका छन् ।

(लेखक पोखरेल त्रिविमा कार्यरत छन । उनी समसामयिक विषयमा कलम चलाउने गर्दछन् )