तीजको नाममा प्रवासमा अनाधिकृत आर्थिक सहयोग माग्ने समूहहरु सक्रिय

मजदुरहरुको चर्को विरोधः नियन्त्रण गर्न माग

भारत । घर परिवारको लालनपालनको उद्देश्य बोकेर भारतका विभिन्न स्थानमा काम गर्न गएका नेपालीहरु पछिल्लो पटक प्रवासी नेपालीहरुबाटै ठगिने गरेको खुल्न आएको छ ।

प्रवासमा रहेका नेपाली मजदुरहरुसँग विभिन्न नाममा मनमर्जि खोलिएका समूहहरुले चाडपर्व मनाउने नाममा चर्को रकम असुल्ने गरेको बताइएको छ ।

भारतका विभिन्न क्षेत्रमा रहेका नेपालीहरु स्वदेशी नागरिकहरुबाटै ठगिने गरेको भएपनि त्यसको नियन्त्रणमा भने कसैले ध्यान दिएको देखिन्न । भारतको ब्याङ्लोर शहरमा रहेका नेपाली मजदुरहरुले हरपल नेपालकर्मिसँग त्यस्तो खुलासा गरेका हुन ।

उनीहरुका अनुसार त्यहाँ हिन्दु धर्मालम्बिहरुको पर्व हरितालिका तिज नजिकिदैँ जाँदा ब्याङ्लोरमा रहेका प्रवासी नेपालीहरुसँग कार्यक्रम गर्ने भन्दै मनमर्जि रुपमा खोलिएका केही संस्था वा समूहहरुले चर्को रकम उठाउने गरेका छन ।

उनीहरुका अनुसार नेपालमा वा भारतमा कुनै पनि निकायमा दर्ता सम्म नभएका त्यस्ता संस्था र समूहहरुले धार्मिक पर्वहरु मनाउने नाममा मजदुरहरुसँग मनमर्जि रुपमा रकम असुलि गरिरहेका छन ।

परिवारको पालनपोषणको लागि घरबार छाडेर बिदेशिएका नेपालीहरु चाडपर्वको समयमा एक ठाउँमा जम्मा भएर आपसमा खुशीयाली साट्ने र भेटघाटको वातावरण मिलाउने खालका कार्यक्रमहरु बनाउनुको सट्टा त्यस्ता संथाहरुले भने चाडपर्व मनाउने भन्दै चर्को रकम उठाउने बाध्यकारी निति बनाएको बुझिएको छ ।

पर्व मनाउने नाममा मजदुरसँग चर्को रकम उठाउने र त्यसको हिसाब किताब सम्म नदेखाउने उनीहरुको नियत गलत रहेको भन्दे प्रवासी नेपालीहरुले त्यस्था समूहहरुलाई सम्बन्धीत निकायले नियन्त्रण गर्नुपर्ने माग समेत राखें ।

ब्याङ्लोरमा सेक्युरिटी काम गरिरहेका एक नेपालीले हरपलकर्मिसँग भने–‘गएको बर्षमा पनि ति सामाजिक संस्थाका नाममा चिनिएका समूहहरुले तिजमा कार्यक्रम गर्ने भनेर मनलाग्दो गरि रकम उठाएका थिए । त्यतिबेला फुटबल प्रतियोगिता र पिक्निक कार्यक्रम गरेको थियो तर रकम के कति उठ्यो र के कति बचत छ भन्ने अहिलेसम्म कसैलाई भनिएको छैन ।’

उनले अगाडि भनेका छन–‘नेपाली दाजुभाईसँग विभिन्न नाममा बेलाबेला चर्को रकम संकलन गर्ने ति समूहहरुले केही कार्यक्रमहरु गरेको भएपनि त्यसमा ठूलो रकमको हिनामिना हुने गरेको देखियो । उनीहरुले कसैलाई पनि त्यसको वास्तविक खर्च विवरण नै देखाउँदैनन् । एक प्रकारले यो ठगि नै हो ।’

प्रवासी नेपालीहरुले आफ्नै देशका दाजुभाईहरुबाट ठगिनुपरेको गुनासो पोख्दै त्यसको नियन्त्रण हुनुपर्ने माग अघि सारेका छन । उनीहरुले चाडपर्वको नाममा हुने ठगि र विकृतिजन्य प्रवृतिहरुको विरोध समेत गरेका छन ।

उनीहरुले त्यस्ता संस्था वा समूहहरुले प्रतिव्यक्ति कम्तिमा रु १५० देखि रु १५००० (भारती रुपैंया) सम्म लिने गरेको बताएका छन ।

सहयोग सबैसँग उठाउने गरेको भएपनि कार्यक्रमको तयारी र योजनाको विषयमा भने आफैले गर्ने गरेको भन्दै मजदुरहरुले असन्तुष्टि पोखे। तीज विशेष/फाईल तस्बिर