राज्यको फासिवादी हर्कत विरुद्ध नेता कार्यकर्तालाई जेल बस्न वा भूमिगत हुन माओवादी केन्द्रको निर्देशन (भिडियोसहित)

देशव्यापी प्रतिरोध सघर्षको तयारी गर्नुपर्नेमा जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राज्यले पछिल्लो समयमा निरञ्कुश व्यवस्थाको झल्को आउने गरी आफ्नो फासिवादी चरित्र प्रदर्शन गरिरहेको भन्दै त्यसका विरुद्ध सशक्त रुपमा प्रतिरोध संघर्ष चलाउनुपर्नेमा जोड दिएको छ ।

राजधानीमा हालै आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले त्यस्तो बताएका हुन ।

गत शनिबार ललितपुरको प्रयागपोखरी स्थित खेलकुद विकासको भवनमा सम्पन्न पार्टीको नेवा–ताम्सालिङ प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा किरातीले देश र जनताको अधिकारका पक्षमा बोल्ने देशभक्त, राष्ट्रवादी नेता र पार्टीहरुमाथि राज्यले दमन बढाएको भन्दै त्यसका विरुद्ध डटेर प्रतिरोध गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष किरातीले राज्य फासिवाद तर्फ बढेमा त्यसका विरुद्धमा सच्चा कम्युनिस्ट पार्टी र नेता, कार्यकर्ताहरुको अगाडी जेल बस्नु वा भूमिगत भएर प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आफ्नो पार्टीका नेता, कार्यकर्ताहरुलाई मानसिक तयारीको अवस्थामा रहन निर्देशन समेत दिए ।

उनले सच्चा कम्युनिस्टहरुलाई आत्मसमर्पण स्विकार्य नहुने भन्दै जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै राज्य आतंकका विरुद्ध सशक्त प्रतिरोध आन्दोलनको तयारी गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले आफ्नो पार्टीले सडक आन्दोलन र प्रतिरोध आन्दोलनको कार्यक्रममा जोड दिएको भएपनि राज्यले बाध्यता निम्त्याएमा भूमिगत हुन समेत तयार हुनुपर्ने धारणा राखें । उनले कम्युनिस्ट एकतामा समेत जोड दिएका थिए ।

उनले भने–‘सच्चा कम्युनिस्टहरु अथार्त साम्यवादीहरुको साँझा लक्ष्य साम्यवादी व्यवस्था भएकाले त्यसको प्राप्तीका लागि कम्युनिस्ट पार्टी र नेताहरुबीच एकता, रुपान्तरण र संघर्षको प्रकृया अपनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विप्लव नेकपामाथिको प्रतिबन्ध र नेताहरुको गिरफ्तारी, बढ्दो सामाजिक असुरक्षा, अपराधीक घटनाहरु, हत्या, बलात्कार, मौलाउँदो भ्रष्टाचारी लगायतका घटनाक्रमले वर्तमान केपी ओली सरकार पूर्णतया असफल बन्दै गएको तर्क गरे ।

उनले वर्तमान सरकार धरै समय नटिक्ने ठोकुवा गर्दे सरकारको गलत काम, कारवाहीको जन स्तरबाटै विरोध भैरहेको र त्यो क्रमश बढ्दै जानेप्रति संकेत गरे । उनले भने–‘यो सरकार धेरै चल्ने देखिन्न । जनताहरुले विकल्प खोजि सकें ।’

उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापा, सचिव राजन तिमिल्सिना, नेताहरु आलोक रायमाझि, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी लगायतले समेत बोलेका थिए । कार्यक्रममा प्रदेश समिति अन्तर्गतका विभिन्न जिल्लाहरुबाट अगुवा नेताहरुको बाक्लो सहभागिता रहेको थियो ।