धम्बोझी क्लवले प्राप्त गरेको सफलता बाँके जिल्ला बासीको सफलता ः अध्यक्ष रिजाल

खेलाडीहरुको गृहनगरमा भव्य स्वागत

बाँके । बाँकेको धम्बोझी क्लब नेपालगञ्जका खेलाडीलाई शुक्रवार गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ ।

प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको विजेता क्लवका खेलाडीलाई नेपालगञ्जबासीले बाजागाजासहित खेलाडीहरुलाई नगरपरिक्रमा गर्दै सम्मान र स्वागत गरेका हुन् ।

खेलाडीको स्वागत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर सुनील सिंह हमालले प्रदेश स्तरीय लिगको विजेता क्लवका खेलाडीलाई बधाई ज्ञापन गर्दै उपमहानगरपालिकाले औपचारिक सम्मान कार्यक्रम गर्ने बताए ।

धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, क्लवका पूर्व अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल लगायतको उपस्थितीमा खेलाडीहरुको बाजागाजासहित नगर परिक्रमा गरेका थिए ।

अध्यक्ष खड्काले बाँकेले लामो समयपछि यसखालको उपाधी जित्न सफल भएको भन्दै यो धम्बोझीबासीका लागि मात्रै नभएर जिल्लाकै लागि गर्वको विषय भएको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले धम्बोझी क्लवले प्राप्त गरेको सफलता बाँके जिल्लाबासीको सफलता भएको बताउँदै खेलाडीको हौसला बढाउने र राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गर्नका लागि खेलाडीको सम्मान लगायतका कार्यक्रम राखिने जनाए ।

लिग विजेता भएपछि धम्बोझी क्लवले प्रदेश ५ को प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा सहभागिता जनाउने बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिदै लिग विजेता क्लवले नगद ५ लाख पुरस्कार प्राप्त गरेको जनाए ।