एशिया प्यासिफिक सम्मेलन काठमाडौंमाः विशाल र्यालिसहित मंगलबार उद्घाटन

२१ राष्ट्रका सयौं विदेशी पाहुना आउँने

काठमाडौं । विश्व ट्रेड युनियन महासंघको एशिया प्यासिफिक क्षेत्रिय सम्मेलन आउँदो मंगलबारदेखि काठमाडौंमा शुरु हुने भएको छ ।

‘श्रमिक वर्ग र सामाजिक सुरक्षाका आधारभूत आवश्यकताहरू सुनिश्चित गर’ भन्ने मूल नारासहित एशिया प्यासिफिक सम्मेलन नेपालमा हुन लागेको हो ।

विश्व ट्रेड युनियन महासंघ समन्वयन समिति नेपालको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा विश्वका करिब २१ राष्ट्रबाट प्रतिनिधित्व गर्दै विदेशी पाहुनाहरु नेपाल आउँने भएका छन ।

उक्त सम्मेलनमा ट्रेड युनियन सम्बद्ध नेपालमा क्रियाशिल विभिन्न आठ वटा महासंघका प्रतिनिधिहरु समेत गरेर सयौंको सहभागिता रहने छ ।

आयोजकले सम्मेलनकोे तयारीमा आफुहरु जुटिरहेको हरपल नेपाललाई बताएको छ । आयोजक समिति अन्तर्गतको क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमल्सिनाका अनुसार आउँदो मंगलबार बिहान १०ः३० बजे काठमाडौंको भृकुटीमण्डबाट सम्मेलनको उद्घाटन हुनेछ ।

तिमल्सिनाले सम्मेलनको उद्घाटनको तयारीबारे हरपलसँग कुराकानी गर्दै भने–‘सम्मेलनलाई आकर्षक, भव्य र ऐतिहासिक बनाउनका लागि हामी आम सञ्चारमाध्यमसँग समेत सहयोगको अनुरोध गर्दछौं । उद्घाटनको क्रममा महासंघहरु, राष्ट्रिय स्तरका ट्रेड युनियन, प्रतिष्ठान स्तरका ट्रेड युनियनमा आवद्ध सबैलाई मूल नारा लेखिएको आ–आफ्नो व्यानर, प्लेकार्ड सहित र्यालीमा ठूलो संख्यामा सहभागिता बढाउँने तयारीमा रहेका छौं ।’

उनले नेपालमा हुन लागेको एशिया प्यासिफिक सम्मेलन विश्व ट्रेड युनियन महासंघको इतिहासमा अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुने विश्वास समेत व्यक्त गरे ।

उनले मजदूरवर्गको लागि अत्यन्त आधारभूत आवश्यकताका वस्तु तथा सेवाहरु शिक्षा, स्वास्थ्य, बसोबासको व्यवस्थापन, खाद्यान्न, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र अन्य पेशागत अधिकार लगायतका विभिन्न विषयहरुमाथि सम्मेलनमा वृहत छलफल हुने बताएका छन् ।

अन्तराष्ट्रिय स्तरको सम्मेलन नेपालमा गर्ने अवसरका प्राप्त हुनु आफैमा ऐतिहासिक र उपलब्धीमूलक हुने भन्दै उनले श्रमिकवर्गले पछिल्लो चरण भोगिरहेका थप समस्याहरु र त्यसबारेमा महासंघको साझा धारणा बनाउँने विषयमा समेत छलफल हुने बताए ।

आयोजकले सम्मेलनमा श्रमिकवर्गको साझा सरोकारका विविध विषयमा छलफल गर्दै महादेश स्तरमा सहकार्य, एकता र ऐक्यवद्धता बढाउने विश्वास लिएको छ । त्यस्तै सम्मेलनले नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वपूर्ण सन्देश समेत प्रवाह गर्ने विश्वास लिइएको छ ।

मंगलबार शुरु भएर बुधबार सकिने उक्त दुई दिने कार्यक्रमको लागि ठूलो आर्थिक श्रोत चाहिने भन्दै त्यसका लागि सबै सदस्यहरु, समर्थक, शुभचिन्तक, व्यावसायिहरुलाई सहयोगमा जुट्न समेत आयोजकले आह्वान गरेको छ ।

दोश्रो विश्व युद्धको अन्त्यसँग सन् १९४५ अक्टोबर ३ तारेखमा विश्वका ५५ देशका ५६ वटा राष्ट्रिय स्तरका र २० वटा अन्तर्राष्ट्रिय स्तरका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको संगठनमा आवद्ध प्रतिनिधिहरु फ्रान्सको राजधानी पेरिसमा भेला भएर पहिलो पटक विश्व ट्रेड युनियन महासंघको स्थापना गरेका थिए ।

त्यसेलाई महासंघको पहिलो महाधिवेशन भनियो । पहिलो महाधिवेशनमा ५५ देशका ट्रेड युनियनहरुबाट ६ करोड ७० लाख श्रमिकवर्गको प्रतिनिधित्व गर्दै २७२ जना प्रतिनिधिहरुले महाधिवेशनमा भाग लिएको बताइन्छ । त्यतिबेला महासंघले विश्वभरका श्रमिकहरुलाई एकैठाउँमा संगठित गर्ने उद्देश्य लिएको थियो ।

महासंघले श्रमिकहरुले संगठत हुन पाउँने, अधिकारको पक्षमा बोल्न पाउँने, सामुहिक सौदाबाजी गर्न पाउने लगायतका अधिकारहरुलाई सन् १९४८ र सन् १९४९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको अभिसन्धीको रुपमा पारित गराउँने समेत नेतृत्वदायि भूमिका निर्वाह गरेको थियो ।

महासंघले हाल सन् २०१७ मा सम्पन्न १७ औं विश्व कांग्रेसको कार्यदिशा अनुरुप आफ्ना गतिविधिहरु अगाडि बढाउँदै आएको छ । साम्राज्यवाद, पूँजिवाद, फाँसिवादका विरुद्ध विश्व ट्रेड युनियन महासंघ आफ्नो स्थापनाकालदेखि निरन्तर संघर्ष गर्दै आएको छ ।

महासंघले श्रमिकहरुको हक, अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महासंघ वर्ग समन्वयवाद, अवसरवाद र आत्मकेन्द्रीत सोचबाट श्रमिक आन्दोलनलाई रक्षा गर्दै जुझारु, अनुशासित र श्रमिक वर्गीय निर्णायक आन्दोलनको विकासमा जोड रहेको छ ।

अहिले विश्व ट्रेड युनियन महासंघमा सदस्य राष्ट्रहरुको सख्या बढेर १२६ पुगेको छ भने सदस्य संख्या ९ करोड ५० लाख नाघि सकेको बताइन्छ । नेपाल विश्व ट्रेड महासंघमा सन् १९९५ देखि आवद्ध रहदैं आएको छ । हाल नेपालका विभिन्न ८ वटा ट्रेड युनियन महासंघहरु आवद्ध रहेको पाइन्छ ।

विश्व ट्रेड महासंघमा आवद्ध रहेका नेपालका ट्रेड युनियन महासंघहरुमा क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रीक ट्रेड युनियन महासंघ, नेपाल समावेशी ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन फेडेरेशन, राष्ट्रिय प्रजातान्त्रीक ट्रेड युनियन महासंघ नेपाल लगायत रहेका छन् ।