भारतबाट नेपाली बैंकको क्रेडेन्सियल हृयाकिङ गरी करोडौं चोरीः प्रहरीद्धारा १२ जना पक्राउ, अनुसन्धान जारी

चोरीमा नेपाली एजेन्टको प्रयोगः ३५ प्रतिशत सम्म कमिसन

काठमाडौं । पछिल्लो समयमा बैंकको क्रेडेन्सियल ह्याकिङ गरेर रमक चोरीका घटनाहरु बढ्दै गएका छन् । बैंक तथा वित्तिय संस्थाहरुबाट क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानहरुबाट १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले आज पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको हो ।

वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाल्ने कार्यमा संलग्न उनीहरुलाई प्रहरीले उपत्यका तथा उपत्यका वाहिरका विभिन्न स्थानहरूबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुले कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नविल बैंक लगायतका बैंक तथा वित्तिय संस्थाहरूमा ह्याक गरेको प्रहरीको भनाई रहेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका ५ का ४० वर्षीय लक्ष्मी लामा तामाङ, २० वर्षीया निर्मला तामाङ, १८ वर्षीय निमा तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीका २६ वर्षीय संजय घले, सर्लाही हरिवन नगरपालिका २ का ४२ वर्षीय पुष्पराज खड्का, लम्जुङ दोर्दी गाउँपालिका ३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका ९ का ३८ वर्षीय श्रवण कुमार श्रेष्ठ लगाएत रहेका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका ४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, काठमाडौं टेबहाल बस्ने भारत कलकत्ता घर भएका ३० वर्षीय शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका ३ का २२ वर्षीय विजय साह र कैलाली भजनी नगरपालिका १ का ४५ वर्षीय चन्द्र बहादुर बुढा रहेका छन् ।

भारतको मुम्बईमा बस्ने बिदेशी नागरिक काले भन्ने पिटरले मुम्बईमा बसी नेपालका बैंक
तथा वित्तिय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई नेपाली
नागरिकहरूलाई प्रयोग गरी उक्त बैंक तथा वित्तिय संस्थाहरूको क्रेडेन्सियल हृयाकिङ गरी रकम निकाली रहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको बताएको छ । त्यसैगरी कृषि विकास बैंकबाट हालसम्म ऐकिन भएको रकम ४ करोड ७३ लाख ९६ हजार र पानस रेमिट नयाँबानेश्वरबाट १२ लाख ह्याक भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत महाशाखाले जनाएको छ ।

त्यसैगरी पिटरले नेपालका मानिसहरूसँग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ गरी कमिशनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको ठूलो धनरासी ह्याक गर्ने गरेको, विभिन्न बैंक तथा वित्तिय संस्थाको ह्याक गरेको रकम नेपाली व्यक्तिहरूको नाममा निकाली १५ देखि ३५ प्रतिशत कमिसन दिई बाँकी रकम हुण्डी मार्फत पुनःभारत पठाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

पिटरले नेपालका एजेण्डहरूलाई नविल बैंक, कृषि विकास बैंक लगायतका बैंकहरूमा चल्ती खाता खोल्न लगाई ह्याक गर्दै आएको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका १२ जनालाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसएसपि सहकुल थापाले बताएका छन् ।