सुदुरपश्चिममा माओवादी केन्द्रको संगठन निर्माण अभियानः जिल्ला र स्थानीय तहको भेला, सम्मेलनमा तिब्रता

गाउँगाउँमा माओवादी: बढ्दो क्रान्तिकारी जनलहर

कैलाली । नेकपा (माओवादी केन्द्र) ले सुदुरपश्चिम प्रदेशमा संगठन निर्माणको अभियान अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहका भेला, सम्मेलनका तिब्रता दिदै आएको छ ।

हालै सम्पन्न प्रदेश समितिको बैठकले प्रदेश कमिटीलाई सदृण गर्दै जिल्ला तथा स्थानीय तहमा पार्टी र अन्य मोर्चा, संगठनहरुको भेला, सम्मेलन गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रले अभियानात्मक रुपमा त्यसलाई निरन्तरता दिदै आएको हो ।

पार्टी तथा संगठन निर्माण अभियान अन्तर्गत आज माओवादी केन्द्रले सुदुरपश्चिमको कैलाली जिल्ला अन्तर्गत गौरीगंगा नगरपालिकामा आज वृहत भेला तथा प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको छ । उक्त भेलाको सम्पूर्ण तयारी भैसकेको र अहिले ११ः३० बजेबाट औपचारिक रुपमा शुरुवात गरिने बुझिएको छ ।

नेकपा (माओवादी केन्द्र) का सुदुरपश्चिम प्रदेश संयोजक लोकेशका अनुसार दशैभन्दा अगाडी कैलालीका विभिन्न तीनवटा स्थानीय तहमा भेला, सम्मेलन गर्ने तयारी भैरहेको छ । कैलालीको बौनियामा हिजो पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक लोकेशले त्यस्तो बताएका हुन ।

माओवादी केन्द्रले यहि १३ गते बर्दगोडियामा पार्टीको भेला आयोजना गर्ने तयारी गरिरहेको छ । त्यस्तै १५ गते लम्की बजारमा लम्कीचुहा नगरपालिकाको भेला वृहत रुपमा गर्ने तयारी समेत गरेको छ । त्यसदिन माओवादी केन्द्रले पार्टी निकट सुकुम्बासी संगठनको समेत भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने बताएको छ ।

दशै लगत्तै २७ गते मौन्याल गाउपालिकामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षणको कार्यक्रम गर्ने तयारी समेत गरेको छ । भने अन्य कञ्चनपुर, अछाम, डढेलधुरा, बझाङ, बाझुरा, दार्चुला, बैतडी लगायतका प्रदेश अन्तर्गतका ९ वटैं जिल्लामा पार्टी संगठन निर्माण तथा भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने आन्तरिक तयारी गरिरहेको छ ।

आजको कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकाल, प्रदेश संयोजक लोकेश लगायत पार्टीका केन्द्ीय सदस्यहरु ज्ञानु बम, शोभा आचार्य, धरम थापा, रतन बिक लगायतको आतिथ्यता रहने बुझिएको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष भिम बिक, कैलाली जिल्ला अध्यक्ष डम्मर बुढा, महिला, युवा, विद्यार्थी लगायतका नेताहरुको समेत कार्यक्रममा सहभागिता रहने बताइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी भएको त्यहाँबाट माओवादी केन्द्रका नेता जगत अउच्यूले बताएका छन् ।

पछिल्लो समय राज्यका असमान नीति निर्णको विरोधदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुमा माओवादी केन्द्रले देशव्यापी रुपमा भण्डाफोर गर्दे आएको छ । कार्यक्रमको गतिसँगै गाउँगाउँ र बस्तिबस्तिबाट माओवादी केन्द्रमा व्यापक जनलहर आएको माओवादी प्रदेश संयोजक लोकेशले बताएका छन् ।