दशैंको मुखमा पत्रकार महासंघको अनुगमनः ऐन कार्यान्वयनमा समस्या

पारिश्रमिक र दशैं भत्ता मुख्य चासोको विषय

काठमाडौं । नेपाल पत्रकार महासंघले दशैको मुखमा पत्रकारको पारिश्रमिक कार्यान्वयनको विषयमाथि आफ्नो अनुगमन बढाएको छ ।

महासंघले मिडियामा ऐेन कार्यान्वयन, बाँकी रहेको बक्यौदा र दशैं भत्ताको भुक्तानी एवं वृद्धि भएको न्युनतम पारिश्रमिक लागू भए,नभएको विषयमा त्यस्तो अनुगमन शुरु गरेको हो ।

पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा गठित टोलीले विभिन्न मिडियाहरुमा पारिश्रमिकको विषयमा अनुगमन शुरु गर्ने जिम्मेवारी पाएको छ ।

उक्त अनुगमन टोलीमा सहभागी महासंघका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार हक, हित प्रवर्द्धन समितिका केन्द्रीय सहसंयोजक जन्मदेव जैसीले चाडपर्वको मुखमा श्रमजीवि पत्रकारहरुले भुक्तिानी तथा भत्ता पाए नपाएको बुझ्न आवश्यक देखिएकाले अनुगमन बढाएको बताए ।

पत्रकार जैसीका अनुसार अनुगमन टोलीले सेतोपाटी अनलाइन, कान्तिपुर एफएम र माउण्टेन टेलिभिजनमा पुगेर श्रमजिवी पत्रकारका गुनासा सुन्ने, व्यवस्थापन पक्षलाई झक्झकाउने र खवरदारीको काम गरेको छ ।

कान्तिपुर एफमएममा न्यूनतम पारिश्रमिक कार्यान्वयनको समस्या र लामो समयदेखि करारमा राखेको अबस्था पाइएको र माउण्टेन टिभिमा श्रमजीवि ऐन अनुरुपको पारिश्रमिक, दशैं भत्ता, न्यूनतम् सुविधा लगायत बिषयहरु कार्यान्वयन नभएको पाइएको समेत उनले बताए ।

अनुगमनमा उपाध्यक्ष पोख्रेल, सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जैसी र यम बिरहीको लगायत पत्रकारका नेताहरुको सहभागिता रहेको थियो ।