किन बढ्यो नेपालमा एटीएम आक्रमण ? सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकको कडा निर्देशन

यस्ता छन् प्रयोगकर्तालाई विज्ञका दश सुझावहरु

काठमाडौं । देशभरिका एटीएम बुथहरूमा सुरक्षा निगरानी बढाउन केन्द्रीय बैंकहरूलाई पुनः निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ प्रणाली ह्याक गरेर पासवर्ड चोरी गर्ने, रकम निकाल्ने लगायतका घटना सार्वजनिक भएपछि सुरक्षा निगरानी बढाउन पुनः निर्देशन दिइएको हो ।

राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रवार भने, एटीएम बुथको सुरक्षाबारे हामीले २०७३ को माघ १० गते नै गरेको परिपत्रलाई पछिल्लो घटनापछि पुनः पठाएका हौँ।

मिश्रका अनुसार सो परिपत्रमा बैंकहरूले सबै एटीएमलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्नुपर्ने र त्यसको रेकर्ड ९० दिनसम्म राख्नुपर्ने उल्लेख छ।

त्यसका अतिरिक्त अहिलेको परिपत्रमा उल्लेखित कुराबारे मिश्रले भने,बैंक तथा वित्तीय संस्थाहरूद्वारा सञ्चालित सम्पूर्ण एटीएम बुथहरूमा चौबीसै घण्टा सुरक्षा गार्डहरूको व्यवस्था गरी बुथहरूको विशेष निगरानी गर्नुपर्नेछ।

बैंक वा एटीएम बुथनजिक कुनै व्यक्ति वा समूहको गतिविधि शङ्कास्पद लागेमा सम्बन्धित पदाधिकारी वा निकायलाई तत्काल जानकारी गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

सम्बन्धित पदाधिकारी वा निकाय भनेको प्रहरी, बैंकका सूचनाप्रविधि कर्मचारी वा शाखा प्रबन्धक हुन सक्छन्, कार्यकारी निर्देशक मिश्रले थपे।

खासगरी सबै एटीएम बुथमा चौबीसै घण्टा सुरक्षा गार्ड राख्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशनबारे बैंक सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल बैंकर्स एसोशिएनका कतिपय पदाधिकारीहरू उक्त विषयमा प्रतिकृया दिन भने उपलब्ध भएनन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक मिश्रले भने, हाम्रो पछिल्लो परिपत्रपछि उहाँहरूले अतिरिक्त खर्च हुन्छ भनेर भनिरहनुभएको छ। हाम्रो कुरा सेवाग्राहीको पैसाको सुरक्षा हुनुपर्छ भन्ने हो।

उदाहरणका लागि सीसीटीभी क्यामेराबाट निगरानी गर्ने पाँचवटा सेन्टर बनायो भने पाँच सय जति एटीएम बुथहरूमाथि नजर राख्न सकिन्छ, उनले थपे।

अतिरिक्त सुरक्षा गार्ड राख्नुपर्ने भनेको बैंकका कार्यालय तथा शाखा कार्यालयभन्दा बाहिर रहेका एटीएम बुथहरूको हकमा मात्रै भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

कार्यकारी निर्देशक मिश्रका अनुसार बैंकका कार्यालय र शाखा कार्यालयमै ३३ सय चानचुन एटीएम बुथ छन्। उनले भने, कार्यालयमै भएपछि सुरक्षा गार्ड हुन्छन् नै थप राख्नुपर्ने भनेको अफ साइटमा रहेका एटीएम बुथहरूमा मात्रै हो।

कतिपय आलोचकले चाहिँ बैंकहरू सेवाग्राहीको हकहितभन्दा मुनाफामै बढी केन्द्रित हुने गरेकोले पछिल्लो समस्या बढेको बताउने गरेका छन्।

कृषि विकास ब्याङ्कका खाताबाट झन्डै पाँच करोड रुपैयाँ ट्रान्सफर गराएको घटनाका योजनाकार भारतमा रहेको आशङ्कमा प्रहरीले भारतीय प्रहरीको सहयोगमा अनुसन्धान अघि बढाउने बुधवार प्रहरीले जनाएको थियो।

नेपालभित्र सो बैंकमा खाता भएका वा खाता खोल्न लगाएर एक दर्जन एजेन्ट खडा गरिएको प्रहरीले बताएको थियो । प्रहरीका अनुसार ती चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरिएको छ।

केही हप्ताअघि चिनियाँ ह्याकरहरूले नेपाली ब्याङ्कका एटीएम कार्ड ह्याक गरेर करिब डेढ करोड चोरेका विवरण आएका थिए।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पनि प्रहरी अनुसन्धानबाट मुख्यतः दुईवटा कारणले नै यस्ता घटना भएको पाइएको बताए।

उनले भने, पहिलो भनेको ब्याङ्क तथा वित्तीय संस्थाहरूको पूर्वाधारमा उचित सुरक्षा सतर्कता नअपनाइनु हो भने अर्को प्रयोगकर्ताले पनि सावधानी नअपनाउनु हो। यी दुवै कुरामा सुधार गर्न सके समस्या कम हुन सक्थ्यो।

नेपाल प्रहरीको साइबर ब्यूरोका एकजना अधिकारी भन्छन्, हामीकहाँ सूचनाप्रविधिको ज्ञान कम भएकाले पनि धेरै प्रयोगकर्ताले सावधानी नअपनाउँदा यस्ता हमलाहरू बारम्बार भइरहेको देखिन्छ।

चिनियाँ ह्याकरको समूहले नेपाली ब्याङ्कहरूको सूचनाप्रविधि प्रणालीमा ह्याक गरेर रकम चोरेको तीन सातापछि फेरि अर्को रकम चोरीको घटना सार्वजनिक भएपछि अधिकारीहरूले पनि नेपालमा साइबर सुरक्षा संवेदनशीलता बढेको ठानेका छन्।

  • सरकारी स्वामित्वको कृषि विकास ब्याङ्कको लाहान शाखाबाट पासवर्ड ह्याक गरेर झन्डै दुई करोड रूपैयाँ चोरिएको घटना सार्वजनिक भएपछि हाल प्रहरीले त्यसको अनुसन्धान गरिरहेको बताएको छ। प्रयोगकर्तालाई विज्ञहरुको सुझाव यस्ता छन्
  • आफूले काम गर्ने स्थान र व्यक्तिगत कामका लागि प्रयोग गर्ने डिभाइस भिन्नभिन्न राख्ने
    व्यक्तिगत प्रयोजनका लागि कार्यालय वा काम गर्ने स्थानका डिभाइस प्रयोग गर्नुपर्ने अवस्था आएमा उच्च सुरक्षा प्रबन्ध गर्ने एकदमै सुरक्षित खाले युजर नेम र पासवर्ड राख्ने
    दुई तहको अथेन्टिकेशन राख्ने
  • सामाजिक सञ्जालहरूमा आउने कुनै पनि लिङ्कहरू सीधै नखोल्ने
  • स्मार्टफोन र अन्य डिभाइसमा भेरिफाइड तथा सुरक्षित एप्लिकेशनहरू मात्र राख्ने
  • आफ्ना सूचनाहरू सकेसम्म जताजतै शेअर नगर्ने
  • आफ्ना ब्याङ्क कार्डहरूको विवरण जता पायो त्यतै अप्डेट नगर्ने
  • जुन पायो त्यही अनलाइन कारोबार गर्ने कम्पनीहरूबाट खरिद नगर्ने
  • अन्लाइन भुक्तानीको सुविधा लिनुपर्दा उक्त कम्पनीले डेटा सुरक्षा गर्न सक्छ कि सक्दैन,
  • रकम हरायो वा चोरियो भने फिर्ता गर्न सक्छ वा सक्दैन, उसका सर्तहरू कस्ता छन् पढेर मात्र सेवा लिने (बीबीसीबाट)