१ सय ५० क्विन्टल अबैध सेतो मटर बरामद

बाँके । बाँकेको नरैनापुरबाट भारततर्फ अवैध रुपमा पैठारी गर्न लागिएको १ सय ५० क्विन्टल सेतो मटर प्रहरीले सोमवार बरामद गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले जनाए ।

सशस्त्र प्रहरी बल नेपाल वि ओ पी गंगापुरबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वको गएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भे १ त ५०१२, भे १ त ९७५४ र भे १ त ७४७५ नम्बरको ट्रयाक्टरबाट बिल विजक विना नै भारत तर्फ लैजाँदै गरेको २५ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको सेतो मटर बरामद गरेको हो ।

प्रहरीलाई देख्ने वित्तिकै ट्रयाक्टर चालकहरु ट्रयाक्टर छोडेर भागेका थिए । मटर र तीन वटै ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीले संचारकर्मिसंगको कुराकानीको क्रममा बताए ।