लागूऔषधसहित सिराह प्रहरीद्धारा दुई युवा पक्राउ

आवश्यक कार्बाही तथा अनुसन्धान जारी

सिराह । सिरहाको बरियारपट्टी गाउँपालिका कचनारीबाट भारीमात्रामा लागूऔषधसहित दुई युवालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।

सरकारले बिक्रि वितरणमा प्रतिबन्ध लगाएको ८९ बोतल डीलक्स नामक लागुऔषध सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष प्रहरी टोलि र प्रहरी चौकी कचनारीबाट खटिएको टोलिले सिरहाको गोलबाजार नगरपालिका ६ को प्रेम कुमार साहको छोरा २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका १ को श्याम सुन्दर यादवको छोरा २० वर्षीय नवीन कुमार यादवलाई डीलक्स नामक लागुऔषध सहित पक्राउ गरेको प्रहरीको भनाई रहेको छ ।

पक्राउ परेका दुबै कारोबारी निकै लामो समयदेखि लागुऔषध ओसारपोसार कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चतुर्वेदीले बताएका छन।

पक्राउ परेका दुबै जनालाई आवश्यक कार्बाही तथा थप अनुसन्धान गर्ने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।