सामान्य घरायसी विवादका कारण आफ्नै बाबुको हत्या गर्ने युवक पक्राउः थप अनुसन्धान हुँदै

धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलासा

काठमाडौं । प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा लुकिछिपि बसेको अवस्थामा एक युवालाई कीर्तिपुरबाट प्रक्राउ गरेको छ ।

हत्या अभियोगमा काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका ४० वर्षीय रनकाजी भन्ने रन बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनी पछिल्लो समय काठमाडौंको कपन क्षेत्रमा बस्दै आएको प्रहरी अनुसन्धानका आधारमा प्रहरीले उनको खोजि कार्य गरिरहेको भएपनि लामो समयदेखि पक्राउ गर्न भने सकेको थिएन ।

प्रहरीको अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको विशेष टोलीले उनलाई काठमाडौंको कीर्तिपुर नगरपालिका २ चोभारबाट पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको बुझिएको छ ।

प्रहरीका अनुसार आज भन्दा २० वर्षअघि घरायसी सामान्य विवादको विषयलाई लिएर उनले आफ्नै बुबालाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रहेकोमा प्रहरीले भने खोजि गरिरहेको थियो ।

प्रहरीका अनुसार २०५७ चैत २९ गते दिउँसो उनले आफ्ना बुबाको हत्या गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनी घटनापछि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएर फिर्ता भएका हुन ।

पछिल्लो समयमा उनी आफ्नो वास्तविक परिचय लुकाउँदै काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

उनलाई पक्राउ गरेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । अभियुक्तलाई कारबाहीका लागि समेत प्रहरीले मुद्दा अघि बढाउने तयारी गरिरहेको बुझिएको छ ।