झापामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

फरार बसचालकको प्रहरीद्धारा खोजी

झापा । शिबसताक्षी नगरपालिका ७ शिवचोकस्थित सडकमा मे २ प ३५३९ नम्बरको मोटरसाइकलले सोमबार बेलुका ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका युवालाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त घटनाबाट मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४२ वर्षीय ईन्द्र बहादुर दंगाल रहेको प्रहरीको भनाई छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका ३ कमलपुलस्थित सडकमा मे १ ख ३०८७ नम्बरको बस अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार एकको समेत मृत्यु भएको छ ।

दुर्घटनाबाट घाईते भएका दमक नगरपालिका ८ बस्ने २६ वर्षीय शंकर पौदारको मृत्यु भएको हो ।

उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

हाल फरार बस र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।