सुदूरपश्चिममा माओवादी केन्द्रद्धारा उपनिर्वाचन वहिष्कारको व्यापक प्रचारः भित्तें लेखन अभियान जारी

देशद्रोही, भ्रष्टाचारी र बलात्कारीलाई फाँसिको माग

कैलाली । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशमा मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनको हड्ताल सहित वहिष्कारको लागि केही दिनदेखि ब्यापक रुपमा प्रचार, प्रसार तथा जनतासँग भेटघाटमूलक कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संयोजक लोकेशको अध्यक्षतामा हालै बसेको प्रदेश सचिवालय समितिको बैठकले केन्द्रीय कार्यक्रमलाई प्रदेशभरी व्यापक रुपमा जनसमर्थन सहित कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा उपनिर्वाचन शान्ति र समाजवाद विरोधी भएकाले त्यसको वहिष्कार गर्नुपर्ने, राज्यको जनघाती, राष्ट्रघाती कामहरु बढ्दै गएकाले त्यसको विकल्प खोजनुपर्ने, वर्तमान सत्ताँ, व्यवस्था जनअधिकारको विरुद्धमा भएकाले त्यसको व्यापक भण्डाफोर सहितका कार्यक्रम गर्ने निर्णय गरेको बुझिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्ञानु बमका अनुसार केही दिनदेखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा ठाउँठाउँमा सरकारलाई गलत गतिविधि रोक्न सचेत बनाउँने खालका नाराहरु सहित उपनिर्वाचनलाई हड्ताल र वहिष्कारमा उत्रिन आह्वान गर्दै भित्ते लेखन अभियानलाई तिव्रता दिएको हो ।

माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु विभिन्न स्थानमा योजना अनसार विभाजन भएर उक्त भित्तेलेखनको काममा जुटिरहेको नेता बमले बताएका छन । त्यसैगरी माओवादी केन्द्रले सत्ताँरुढ नेकपाले कम्युनिष्ट एकताको नाममा फैलाएको भ्रमबारे स्थानीय जनतासँग छलफल समेत चलाउँदै अघि बढेको बुझिएको छ ।

माओवादी केन्द्रले शहीत, बेपत्ता परिवार, अपाङ्ग तथा योद्धा परिवार लगायतसँग भेघटाट, पुराना नेता, कार्यकर्ताहरुसँग छलफल तथा क्रान्तिकारी शक्तिहरुबीच बलियो एकताको विषयलाई समेत अभियानमा जोडेको छ । माओवादी घरफर्क अभियान समेत सँगसँगै अघि बढाएको नेता बलको भनाई रहेको छ ।

सरकारले उपनिर्वाचनको तयारी गरिरहेको भएपनि त्यसबाट मुलुकमा शान्ति सम्भव नहुने र त्यो देश र जनताको पक्षमा नहुने भन्दै माओवादी केन्द्र, बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकटको देजमो नेपाल लगायतका दल र मोर्चाहरुले निर्वाचनको सशक्त वहिष्कारमा जाने सार्वजनिक गरिसकेका छन ।

यसअघि नेकपा (माओवादी केन्द्र) ले सरकारलाई संविधानको समाजवादी पूर्नलेखन र सरकारका कामहरुबारे १८ बुदें माग पत्र बुझाएको थियो । उक्त मागपत्रलाई सरकारले सम्बोधन नगरि लत्याएको कारण आफुहरु निर्वाचन वहिष्कार लगायत अन्य संघर्षमा जान बाध्य भएको माओवादी केन्द्रका नेताहरुको भनाई रहेको छ ।