खजुरा गाउपालिका मानवमुक्त सडक गाउपालिका घोषित

बेसहरा अवस्थामा रहेका ३६ जनाको उद्धार,९को पारिवारिक पुनःमिलन

बाँके । बाँकेको खजुरा गाउँपालिका देशकै पहिलो सहयोगापेक्षी,बेसहारा,अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा भएको छ ।

खजुरा गाउँपालिका क्षेत्रभित्र बेसहारा अवस्थामा रहेका ३६ जनालाई उद्धार गरिएकोमा ९ जनालाई नीलसागर सेवा आश्रमको सेवा पश्चात पारिवारीक पुनःमिलन गरेको र २७ जना हाल नीलसागरकै संरक्षणमा रहेका छन् ।

खजुरा गाउँपालिकामा अब यस्ता व्यक्तिहरु नरहेकोले खजुरालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

खजुरा गाउँपालिकाको आयोजना र नीलसागर सेवाश्रमको समन्वयमा बुधवार देशका ४६० गाउँपालिकामध्ये पहिलो गाउँपालिकाको रुपमा खजुरालाई सडक मानवमुक्त घोषणा गरिएको हो ।

सो अवसरमा खजुरामा ¥यालीपछि आयोजना गरिएको सभामा प्रदेश नं. ५ का सांसद आइपी खरेलले खजुरा गाउँपालिका सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको होे ।

यसअघि भरतपुर महानगरपालिकालाई घोषणा गरी सकिएको छ । उक्त अवसरमा बोल्दै सांसद खरेलले राज्यका हरेक अंग मावनको सेवा गर्ने र मानवलाई सम्मान गर्ने दिशातर्फ अग्रसर हुनु पर्ने बताए ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वर्षभरी आफ्ना अभिभावकलाई राम्रोसंग पालनपोषण गर्नेलाई सम्मान गरिने,कोही नभएका बेसहारालाई गाउँपालिकाले संरक्षण दिने र अभिभावकलाई अपहेलना गर्नेलाई गाउँपालिकाबाट प्रदान गर्ने सेवामा कटौती गरिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति,बाँकेका संयोजक अजय श्रीवास्तवले बाँके जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने दिशामा आफु लागि रहेको बताए ।

कार्यक्रममा बोल्दै नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनालले संस्थाले सबैभन्दा ठूलो सेवा मानव सेवा रहेको मान्दै देशका विभिन्न जिल्लामा हाल पनि २३० जनाको संरक्षण गरि रहेको बताइन् ।

मानव सेवाको पवित्र कार्यमा निरन्तर लागि रहेको नीलसागरलाई खजुराले सम्मान समेत गरिएको थियो । घोषणासभा शुरु हुनु अघि खजुराको धनौलीबाट शुरु भई विभिन्न सन्देश मुलक प्ले कार्ड र नौमती बाजासहितको ¥याली गाउँपालिका परिसर पुगेको थियो ।