नेपाली भूमिमाथी भारतीय रवैयाः विस्तारवादी नीतिको विरोधमा उत्रिन माओवादी केन्द्रले गर्यो यस्तो अपिल (विज्ञप्तीसहित)

सरकारलाई सचेत रहन आग्रहः भारतलाई कडा चेतावनी

फाईल तस्बिर

काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु समेत देखिएको भन्दै नेकपा (माओवादी केन्द्र) लगायतका राजनैतिक दलहरु, सामाजिक संघ संस्था र राष्ट्रवादी, देशभक्त नागरिकहरुले कडा शब्दमा भारतको विरोध गरेका छन् ।

भारतले आफ्नो नक्सामा नेपाली भूमि गाभेपछि माओवादी केन्द्र लगायत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहनबैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतका राजनैतिक दलहरुले आज विज्ञप्ती सार्वजनिक गर्दै त्यस्तो विरोध गरेका हुन ।

नेपाली भूमिमा भारतीय पक्षले हमला गरेको भन्दै देशभक्त नागरिकहरुले सामाजिक सञ्जाल मार्फत समेत विरोध तथा आक्रोश व्यक्त गरेको देखिन्छ । माओवादी केन्द्रका केन्द्रीय सचिव बिनोद उपाध्यायले केन्द्रीय समितिको तर्फबाट विज्ञप्ती जारी गर्दै भारतीय दादागिरीको प्रतिरोध गर्न आमनागरिकलाई आह्वान गरेका छन ।

त्यस्तै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिको तर्फबाट उक्त विषयमा पार्टी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्यसलाई भारतको नेपाल निल्ने योजनाका रुपमा संकेत गरेका छन् ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘हामीले भारतको यो कदमलाई नेपालको राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमिकतामाथीको हस्तक्षेपकारी योजनाका रुपमा लिएका छौं । नेपालप्रति भारतीय सरकारले विगतदेखि नै ‘समस्यामा असल छिमेकी भनेर नेपाल छिर्ने र सहयोगको आडमा छालै काटेर लिएर जाने’ ब्यवहार गर्दै आएको प्रष्ट देखिन्छ ।’

विज्ञप्ती मार्फत माओवादी केन्द्रले भारतीय विस्तारवादी नीतिलाई असफल बनाउन आम जनसमुदायहरुलाई सक्रिय रुपमा विरोधको कार्यक्रममा सहभागि हुन समेत अपिल गरेको छ । विरोधको कार्यक्रम के कस्तो हुने विषयमा प्रष्ट नखुलाएको भएपनि भोली राजधानी सहित देशभर भारतीय रवैयाको विरोधमा प्रदर्शन, र्याली, नेपाली भूमि खोस्ने नियतले बनाइएको नक्सा जलाउने, नारा जुलुश निकाल्ने लगायतका कार्यक्रमहरु हुने बताइएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि त्यस्तो प्रकारको भारतीय दादागिरीको विरुद्धमा सशक्त प्रतिरोध गरिने तयारी भएको प्रदेश संयोजक लोकेशले बताएका छन । सुदूरपश्चिममा भोलि नेपाली भूमि अतिक्रमको विरुद्धमा नेपाल र नेपालीहरुको राष्ट्रियता लुट्ने नक्सा जलाउने सम्मको कार्यक्रम गर्ने तयारी रहेको एक नेताले हरपल नेपाललाई बताए ।

उक्त विषयलाई लिएर माओवादी केन्द्रको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयले निकालेका छुट्टाछुट्टै विज्ञप्तीहरुको पूणृपाठ यस प्रकार रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

केन्द्रीय कार्यालय, काठमाडौं ।

प्रेसवक्तव्य

दक्षिण एशिया भित्र पर्ने सार्क राष्ट्रको एउटा सदस्य नेपाल भएपनि अहिले नेपाली राष्ट्रमाथी भारतले धावा बोल्दै लिपुलेक समेत भारतीय नक्शा भित्र पारी नयाँ नक्शा निकालेको छ । हुनलाई अबैध रुपमा टिष्टा काँगडा माथिको कब्जा केही वर्ष अगाडी दोधारा र चाँदनी गाविस लगायत थुप्रै ठाउँमा नेपाली भूमि निलेको देखिन्छ । यस अवस्थामा सम्पूर्ण सुरक्षाकर्मि, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रसेवक कर्मचारीका साथै मजदुर, किसान, विद्यार्थी, बुद्धीजीवि, महिला एकजुट हुँदै प्रतिकार गर्न आवश्यक छ । नेपाल आमाको अस्मितामाथी यस प्रकारको धावाले हाम्रो गौरवशाली पार्टी ने.क.पा (माओवादी केन्द्र) मर्माहत भएको छ । तसर्थ पुनः एक पटक विगतको भारत विरुद्धको सुरुङ युद्धको स्मरण गर्दै भारतीय विस्तारवादको यो दादागिरीलाई पाठ सिकाउन अनिवार्य भैसकेको छ । पंचशील सिद्धान्त विरुद्धको यो कदमले संयुक्त राष्ट्रसंघको वडापत्र एवं घोषणापत्र समेतलाई हावामा उडाइदिएको छ । तसर्थ राष्ट्रको यो संवेदनशील घडीमा राष्ट्रको हितमा सम्पूर्ण राष्ट्रभक्त, गणतन्त्रवादीहरुलाई प्रतिकारमा उठ्न समेत आह्वान गर्दछौं ।

मितिः २०७६/०७/२० गते

…………..
बिनोद कुमार उपाध्याय
(सचिव)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश समिति

प्रेसवक्तव्य

मितिः २०७६/०७/२०

छिमेकी मुलुकको नाममा भारतले नेपाल र नेपाली जनताप्रति पटक पटक नाङ्गो रुपमा अपाच्य तथा घोर सामन्तवादी, विस्तारवादी हैकम लाग्दने कुचेष्टा दोहोर्याउँदै आएको छ, यसै सन्दर्भमा पुनः भारतले आफ्नो नयाँ नक्सा मार्फत नेपाली भूमिमाथी ठाडो हस्तक्षेप गरेको विषयमा हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले भारतको यो कदमलाई नेपालको राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमिकतामाथीको हस्तक्षेपकारी योजनाका रुपमा लिएका छौं ।

नेपालप्रति भारतीय सरकारले विगतदेखि नै ‘समस्यामा असल छिमेकी भनेर नेपाल छिर्ने र सहयोगको आडमा छालै काटेर लिएर जाने’ ब्यवहार गर्दै आएको प्रष्ट देखिन्छ । भारतले अहिले प्रकाशनमा ल्याएको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमाथी दादागिरी शैलीमा दावी गरेको देखिन्छ । भारतीय शासकको अपाच्य आडम्बरयुक्त आक्रमणकारी, विस्तावादी तथा साम्राज्यवादी शैलीप्रति हामी घोर विरोध, आपत्ति र घृणा जनाउँदछौं ।

साथै सरकारसँग यस विषयमा कुटनीतिक रुपमा पहल गरी यथाशक्य सत्यतथ्य जानकारी सार्वजनीक गर्न तथा मुलुकको राष्ट्रियतामाथी बढ्दैगएको संवेदनशील अवस्थाबारे सचेत बन्न सुझाव व्यक्त गर्दछौ । अतः मुलुकको राष्ट्रियतामाथी रचिएको यसप्रकारको हमलाप्रति तिव्र घृणा सहित माटोको रक्षार्थ, सचेतन ढंगले भारतीय विस्तारवादी नीतिलाई असफल तथा ध्वस्त बनाउन सबै नेपालीहरु एकजुट हुनुपर्ने अवस्था आएको छ, हामी सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्तिहरु तथा आमजनसमुदायसँग यस प्रकारको भारतीय रवैयाका विरुद्धको कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै विरोधमा उत्रिन समेत आर्दिक अपिल गर्दछौं ।

……….                                                                                           ………
क. लोकेश                                                                              क. रंगनाथ ढकाल
(संयोजक)                                                   (केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज)