भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्तरीयामा पुत्ला दहनः माओवादी केन्द्रले भारतीय नक्सा समेत जलायो (भिडियोसहित)

नेपाली भूमि फिर्ता गर्न चेतावनी

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिमको अत्तरीया बजारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै नेपाली भूमि तुरुन्त फिर्ता गर्न चेतावनी दिएको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको विरोध कार्यक्रमपछि पार्टीका नेता, कार्यकर्ताहरुले मोदीको पुत्ला दहन गर्नुका साथै नेपाली भूमि भारतमा देखिने भारत सरकारको नयाँ नक्सा समेत जलाएका हुन ।

कैलालीको अत्तरीया बजारमा जम्मा भएका माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि पुत्ला जलाइएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका नेता रामचन्द्र भण्डारी (बद्री) ले बताएका छन् । पुत्ला दहनमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका नेताहरु कैलाश, शेरु, चक्र लगाएतले नेतृत्व गरेको बुझिएको छ ।

दर्जनौ नेता, कार्यकर्ताहरुले भारतले हालै प्रकाशन गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत गाभेको भन्दै भारतीय दादागिरी अत्य गर, नेपाली जमिन फिर्ता गर जस्ता नाराहरु समेत लगाएका थिए । पुत्ला दहनमा भने पार्टीको योजना अनुसार केही नेताहरु मात्र सहभागी भएको बुझिएको छ ।

भारतले ल्याएको नयाँ नक्साको विषयमा माओवादी केन्द्रले देशव्यापी रुपमा विरोध कार्यक्रमहरु गरेको बुझिएको छ । हिजो केन्द्रीय कार्यालयको तर्फबाट विज्ञप्ती जारी गर्दै सचिव बिनोद उपाध्यायले भारतीय दादागिरीको अन्त्य गर्नु नागरिकलाई प्रतिकारमा उत्रिन आह्वान गरेका थिए भने सुदूर प्रदेश समितिको तर्फबाट समेत विज्ञप्ती मार्फत विरोध गरिएको थियो ।