भारतीय विस्तारवाद मुर्दावाद, भन्दै कैलालीमा माओवादी केन्द्रले नरेन्द्र मोदीको पुत्ला जलायो

नेपाली भूभाग तत्काल खाली गर्न चेतावनी

कैलाली । नेकपा (माओवादी केन्द्र) ले कैलालीको बौनिया बजारमा हिजो (शनिवार) भारतले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु समावेश गरेको भन्दै नारा जुलुशसहित विरोध कार्यक्रम गरेको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको उक्त कार्यक्रमबीच भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भूमि खाली गर, जस्ता नाराहरु लगाइएका थिए ।

सयौं मानिसहरुको सहभागिता रहेको उक्त विरोध कार्यक्रम सञ्चालन गर्दै नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश समिति संयोज लोकेशले भारतीय विस्तारवादले नेपाली जमिनमा आफ्नो नाङ्गो दादागिरी देखाउँदै आएको भन्दै कडा आक्रोश ब्यक्त गरे ।

उनले नेपालका सबै क्षेत्रहरु भारतलाई तुरुन्त खाली गरेर असल छिमेकी राष्ट्रको रुपमा आउँन आग्रह समेत गरे । उनले भारतलाई नेपाली भूमि अतिक्रमण नरोकेमा त्यसको विरोधमा नेपाली जनताहरु चुप लागेर नबस्ने भन्दै चेतावनी समेत दिएका थिए ।

त्यसैगरी उक्त कार्यक्रमबीच माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले सामूहिक रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र नयाँ प्रकाशन भएको भारतीय नक्सा समेत जलाउँदै भारत विरोधी नाराहरु लगाएका थिए ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले सम्बोधन गर्दै नेपालले कहील्यै पनि भारतीय भूमिमाथी अतिक्रमण नगरेको भएपनि भारतले भने नेपाली भूमिमा र्याल चुहाउँदै आएको बताए । उनले भारतलाई असल मित्र राष्ट्रको रुपमा रहन सचेत बनाएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकालले समेत भारतीय पक्षले गरिरहेको सीमा अतिक्रमणको कडा विरोध गरे । उनले नेपाल सरकारलाई त्यसमा जिम्मेवार बन्दै सीमा रक्षाको लागि सतर्क रहन सुझाव समेत दिए ।

उक्त कार्यक्रममा युवा, विद्यार्थी, पत्रकार, महिला तथा उत्पीडित वर्ग समूहका मानिसहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । कार्यक्रममा सहभागिहरु भारतप्रति कडा आक्रोश ब्यक्त गरिरहेका थिए ।