अखिल क्रान्तिकारीका अध्यक्ष काठमाडौंबाट गिरफ्तारः माओवादी केन्द्रद्धारा विरोध (विज्ञप्तीसहित)

विनासर्त रिहाइको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझी आज भारतीय विस्तारवादी नक्साको विरोध कार्यक्रम गर्ने क्रममा पक्राउ परेका छन् ।

आफ्नो पार्टीका युवा नेता पक्राउ परेपछि माओवादी केन्द्रले विज्ञप्ती जारी गर्दै विनासर्त रिहाइकोम माग अघि सारेको छ ।

माओवादी केन्द्रका सचिव राजन तिमिल्सिनाद्धारा हस्ताक्षरीत उक्त विज्ञप्तीमा राज्यलाई देशभक्त नागरिकहरुमाथी दमन, धरपकड रोक्न भनिएको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ तल रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

केन्द्रीय समिति, काठमाडौं ।

प्रेश विज्ञप्ति

नेपालको वाम नामधारी प्रतिक्रियावादी दलाल सरकारले आज विद्यार्थीहरुको संयुक्त आयोजनामा लिम्पियाधुर, लिपुलेक लगायत समग्र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्साभित्र समेटेको विरोधमा आयोजित कार्यक्रमबाट विभिन्न विद्यार्थी नेतासंगै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवं अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष क.आलोक रायमाझीलाई अनाहकमा गिरफ्तार गरेकोमा हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । वर्तमान सरकार बनेयता देशव्यापी हत्या, राज्यआतंक, बलत्कार भ्रष्टाचार, महंगी, र राष्ट्रघातले सीमा नागेको छ ।

दलाल लम्पसारवादी ओली सरकारले देशभक्तहरुमाथी दमन चलाएर भारतीय विस्तारवादको चाकडीमा लिप्त भएको छ । देशको स्वाधीनता, राष्ट्रिय अखण्डताप्रति दृढ हाम्रो पार्टी र अन्य वामपन्थी शक्तिमाथि देशव्यपी भएको दमन र धरपक्कडले फासीवादी सरकारको चरित्र उदांङ्गो पारेको छ । देशलाई गृहयुद्धमा होमेर विदेशी शक्तिको आडमा निरंकुशता लाद्ने सरकारको नियत प्रष्ट छ । देशभक्तिपूर्ण आन्दोलनमा सहभागी हाम्रो पार्टी तथा विद्याथी नेता आलोक रायमाझी लगाएत गिरफ्तार नेता कार्यकर्ताको विनासर्त यथासिघ्र रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा देशव्यपी संघर्षको आधीवेरी सिर्जना गर्न हाम्रो पार्टी बाध्य हुनेछ ।

मिति:२४ कार्तिक, ०७६

……….
राजन तिमल्सिना
सचिव