आधा दाह्रीको फेसनले इन्टरनेटमा हंगामा

पछिल्लो पुस्ता इन्टरनेटमा सबै कुरा सेयर गर्छ । कतिपय सन्दर्भमा त इन्टरनेटमा भएको ‘सेन्सेसन’ले नयाँ फेसनको निर्धारण पनि गर्छ । पछिल्ला केही दिन यस्तो शृंखला झन बढेको छ । सामाजिक सञ्जाल ट्विटरमा भुल्ने पुस्ता बढ्दो छ । त्यहाँबाट स्टायलको पनि विकास हुँदै गएको छ ।

आजभोलि युवाहरूले दाह्री पाल्ने ट्रेन्ड नै बनिसकेको छ । हामीले पनि विभिन्न स्टायलमा दाह्री राखेका युवाहरू पक्कै देखेका छौँ । तर, अब इन्टरनेटमा तिनीहरूको चर्चा बढेको छ जो दाह्री राख्छन पनि राख्दैनन पनि । र, यो ट्रेन्डको सुरुवात ट्विटरबाट भएको हो । ट्विटरमा पिजेकुप ह्यान्डलबाट यसको सुरुवात भएको हो ।

यो ह्यान्डलले केही दिनपहिले ट्विटरमा एउटा प्रश्न राखे, ‘के म दाह्री काटौँ ?’ यो प्रश्नमा ५० प्रतिशतले उनलाई दाह्री काट्न सुझाब दिए भने ५० प्रतिशतले दाह्री नकाट्न । पिजेकुपले पनि आफ्नो प्रश्नमा आएको सुझाबलाई सहर्ष स्वीकार गरे ।

उनले यो प्रश्नको स्क्रिनसटसँगै तस्बिर अपलोड गरे– आधा दाह्री काटेको । त्यसपछि त उनी ट्विटरमा छाउन धेरै समय लागेन । उनले अपलोड गरेको तस्बिरमा ७३ हजारभन्दा धेरै रिट्विट आइसकेको छ । हजारौँले त्यसलाई लाइक गरेका छन । तर, त्यति मात्र होइन, अरू सयौँ ट्विटर प्रयोगकर्ताले उनको ट्रेन्ड फलो गर्दै आधा दाह्री काटेर ट्विटरमा अपलोड गरिरहेका छन ।

(नयाँ पत्रिका दैनिकबाट )