सरकारी वकिलको आन्दोलन स्थगित,आजैबाट काममा फर्किए

माग सम्बोधन हुनेमा विश्वस्त 

काठमाडौं, माघ १२ । उच्च अदालतमा गरिएको ८० न्यायाधिशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलहरुले आन्दोलन फिर्ता लिएका छन ।

आज कानूनमन्त्रालयमा भएको छलफलपछि सरकारी वकिलहरुले बुधबारबाटै आफ्नो जिम्मेवारी निभाउने बताएको कानून मन्त्रीका प्रेस संयोजक बुद्ध लोप्चनले बताएका छन्।

केहीबेरअघि मन्त्रालयमा भएको वार्ताका क्रममा सरकारी वकिल र महान्याधिवक्ताले आन्दोलनमा उत्रिनु रहर नभई बाध्यता भएको भन्दै माग सम्बोधन लागि आग्रह गरेका थियो ।

जवाफमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारी वकिलले उठाएको मागप्रति न्यायपरिषद गम्भिर चिन्तित रहेको भन्दै आगामी दिनमा माग सम्बोधनको प्रयास गरिने बताए ।

यससँगै न्यायपरिषदले सरकारी वकिलहरुको मागप्रति परिषद गम्भिर रहेको र आगामी दिनमा माग सम्बोधनको प्रयास गरिने विषय समेटेर विज्ञप्ति जारी गर्नेछ भने त्यसैको आधारमा सरकारी वकिलले अर्को विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम फिर्ता लिने घोषणा गर्ने सहमति भएको छ ।