एअर मार्शल राष्टघाति सम्झौता हो,राष्ट्रिय आत्मसम्मानमाथि आघात पुर्यायो: किरण

तत्काल खारेज गर्न माग

काठमाडौं,माघ १४ । नेकपा (क्रान्तिकारी माओवादी)ले हालै नेपाल र भारतको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरुबीच भएको सम्झौता ‘एअर मार्शल’ राष्टघाति भएको बताएको छ।

क्रान्तिकारी माओवादीले उक्त सम्झौताले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्याएको भन्दै त्यसको तत्काल खारेज गर्न माग गरेको छ ।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले गरेको उक्त सम्झौता खारेजी गर्न माग सहित त्यस्तो बताएको हो ।

अध्यक्ष किरणद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ-‘ नेपालको अनुमतिविना सगरमाथा प्रवेशमा रोक लागाउन पर्छ। भारतले नेपालको सगरमाथाको उचाइ नाप्ने भन्ने समाचारहरु आइरहेको छ,सरकारले यस्तो गतिविधि रोक्ने काम गरोस ।’

विज्ञप्तीमा अगाडि भनिएको छ-“नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा नेपालमा आउने भारतीय जेट विमानमा भारतले आफ्नो एअर मार्शल राख्न पाउने नियम बनाइएको, त्यसै आधारमा एअर मार्शल राखिएको र अहिलेको सम्झौतामा पनि त्यो उल्लेख  गरिएको छ । यसले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पुर्याउँदै आएको स्पष्ट देखाउँछ । यस प्रकारका विषयमा नेपाल सरकारको पनि निकृष्ट साँठगाँठ रहिआएको जस्तो देखिएको छ, यो गम्भीर प्रकारको राष्ट्रिय गद्दारी तथा राष्ट्रघात हो । हाम्रो पार्टी उक्त विषयबारे तथ्य सत्य सार्वजनिक गर्न र त्यस प्रकारका राष्ट्रघाती सम्झौताहरुलाई तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गर्दछ ।”

त्यसका साथै नेपाल सरकारको अनुमतिविना सगरमाथा शिखरको उँचाइ नाप्न भारतीय टोली नेपालमा आउँदैछ भन्ने समाचार पनि संप्रेषित भइरहेको छ । यसबारे पनि सत्य तथ्य जानकारी गराउन र अनाधिकृत रुपमा आउन थालेको भारतीय टोलीलाई सगरमाथा प्रवेशमा रोक लगाउनका लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।

अब राष्ट्रियताको आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष किरणले विज्ञप्तीमार्फत भनेका छन-‘भारतीय विस्तारवादको हस्तक्षेपकारी गतिविधि र सकारको राष्ट्रघाती प्रवृत्तिका विरुद्ध सबै जनता सचेत रहदै आवश्यकता परेमा देशको राष्ट्रिय स्वाधीनताको आन्दोलनका लागि अर्को संघर्षका लागि जुट्नु पर्छ ।’