लेखक थपलियाको प्रश्न– आकारपरक तर्क र जनक्रान्तिको मर्म के ? क्रान्तिको माग कसरी पुरा गर्ने ?

‘संशोधनवाद तथा सारसङ्ग्रहवादका विरुद्ध लड्न जरुरी छ’

– हरपल नेपाल । नेकपा (माओवादी) पुनर्गठन हुँदा सङ्गठनात्मक संरचना साना थिए । सापेक्षित रूपमा कमरेडहरूको सङ्ख्या पनि कमै थियो । त्यतिखेर जो मानिसहरू “तिमीहरू गरिखाँदैनौ” भन्थे । आज तिनै मानिसहरू “नेपालको क्रान्तिकारी राजनीति तपाईंहरूकै भरोशामा छ” भन्न थालेका छन् । पार्टी पुनर्गठनताका अधिकांश मानिसहरू भन्थे, “कहिले जङ्गल जाने, कहिलेदेखि चौकी हान्ने, घर–परिवारको व्यवस्थापन के–कस्तो छ, छिटो गरिहाल्नुप¥यो ।” आज तिनै मानिस “बन्दुकचाहिँ चलाउनुहुँदैन है” भन्न थालेका छन् ।
सुरुका दिनहरूमा “विप्लवजीको दुईचार दिनको रहर हो” भन्नुहुने प्रचण्डहरू तथा “दक्षिणपन्थी भड्काउ” भनेर तल्लोस्तरमा झरेर पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिको न्युनीकरण गर्नुहुने किरणहरू आजभोलि अलि–अलि आतङ्कित जस्तो, अलि–अलि आशा–भरोशा गरे जस्तो, अलि–अलि डाहा–ईष्या भए जस्तो भाव प्रकट गरिरहनुभएको छ । लाइन सङ्घर्षको बेला कमरेड विप्लवनिकट रहनुहुने डा. ऋषिराज बरालहरू सम्बन्ध–विच्छेदको निर्णायक घडीमा पछि हट्नुभयो । अहिले उहाँ भनिरहनुभएको छ, “कमरेड किरण र कमरेड विप्लव मेरा लागि समदुरीमा हुनुहुन्छ ।” केही मानिसले आजकल यस्तो भनेको सुनिन्छ, “विप्लव माओवादीसित त्यति धेरै त मानिस छैनन् तर पनि कसरी व्यापक जनताका साथ ठूल–ठूला र भव्य कार्यक्रमहरू गरिरहेका छन् हँ !”

विश्वमा दर्शन दुईवटा छन्– आदर्शवाद र भौतिकवाद । दर्शनका आधारमा विश्वदृष्टिकोण निर्माण हुन्छन् । विश्वदृष्टिकोण पनि दुईवटै छन्– आदर्शवादी विश्वदृष्टिकोण तथा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण । कम्युनिस्टहरूको विश्वदृष्टिकोण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी हो । माओवादीहरूको विश्वदृष्टिकोण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी हो । रहर, प्रतिशोध वा उत्तेजनाले कम्युनिस्ट बनेका अधिकांश मानिस सप्तरङ्गी हुन्छन् । उनीहरू कि त सारसङ्ग्रहवादको सिकार भइरहेका हुन्छन्, कि त माक्र्सवादको मजाक गरिरहेका हुन्छन् । प्रायः सारसङ्ग्रहवादीहरू अँध्यारोमा तीनधार्नी चूक खान्छन् र उज्यालोमा आएर त्यसलाई ‘क्रान्तिकारी वान्ता’ गर्छन् । सारसङ्ग्रहवादका विरुद्ध द्वन्द्ववादको सङ्घर्ष सार्वभौम छ । त्यसैले क्रान्तिकारीहरूले सर्वप्रथम क्रान्तिको निशाना आफैँलाई बनाउनुपर्दछ । यो रूपान्तरणको मूल सिद्धान्त हो ।

प्रकृति, समाज र चिन्तनका आम नियमहरूको विज्ञान नै द्वन्द्ववाद हो । यसले सर्वहारावर्गीय राजनीतिक पार्टीको राजनीतिक कार्यदिशा निर्धारण गर्दछ । यसले राजनीति र कार्यनीतिबीचको सम्बन्धलाई ठीक ढङ्गले बुझ्ने र सङ्गठन तथा सङ्घर्षका रूपहरूको सही विन्यास गर्ने काममा दार्शनिक पथप्रदर्शन गर्दछ । योे सारसङ्ग्रहवादको विारेधी हुन्छ । सारसङ्ग्रहवाद भनेको भिन्न–भिन्न दृष्टिकोण, सिद्धान्त, मान्यता, प्रवृत्ति र नीतिहरूलाई एकै ठाउँमा घालमेल बनाउने चिन्तन–प्रणाली हो । यसले वितण्डता, कुतर्क र पाण्डित्याइँपूर्ण शैलीमा माक्र्सवादको तोडमोड गरी संशोधनवादलाई मलजल गर्दछ । अवसरवादी प्रवृत्तिलाई जन्माउने तथा हुर्काउने सारसङ्ग्रहवादका विरुद्ध कडा सङ्घर्ष गर्नुको कुनै विकल्प छैन । सर्वहारा स्फूर्ति, लगन र आत्मविश्वासका साथ सङ्घर्ष गरेर मात्र हामीले सारसङ्ग्रहवादमाथि विजय हासिल गर्न सक्तछौँ ।

नेकपा (माओवादी) ले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्तमा आधारित भएर नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिलाई अघि सारेको छ । यसले पार्टीलाई सैद्धान्तिक एवम् राजनीतिक रूपले सर्वाधिक स्पष्ट र क्रान्तिकारी पार्टीका रूपमा अगाडि ल्याएको छ । सिद्धान्त एवम् राजनीतिको त्यो स्पष्टता र क्रान्तिकारीपनलाई नेपाली क्रान्तिको व्यवहारसँग एकाकार पारेर लैजाने ऐतिहासिक अभिभारा अहिले ८ औँ महाधिवेशनमार्फत् पूरा गर्नु छ । विगतमा अवलम्बन गरिएका कैयौँ नीतिहरू मूल रूपमा सही हुँदाहुँदै पनि व्यवहारतः अपेक्षित गति पैदा गर्न नसकिएको यथार्थलाई पनि अब गम्भीरताका साथ समीक्षा गर्नैपर्दछ । नीति, नेतृत्व, सङ्गठन र सङ्घर्षलाई वैज्ञानिक तथा कार्यकारी शृङ्खलामा विकास गर्नु पनि ८ औँ महाधिवेशनको महत्वपूर्ण कार्यसूची हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएको गम्भीर सङ्कट र परिणामतः विश्वव्यापी देखापरेको ढुलमुल, संशोधनवाद र विसर्जनवादी प्रवृत्तिहरूका गम्भीर असर नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि निकै ठूलो चुनौती हो । नेपालको कम्युनिस्ट आन्दोलनमा निम्न–पुँजीवादी चिन्तनको प्रवलताको पृष्ठभूमिमा विगतका कैयौँ क्रान्तिकारीहरू समकालीन राजनीतिक प्रतिकूलताको अगाडि आत्मसमर्पण गर्दै सुधारवाद र विसर्जनवादको सिकार बन्न पुगेको यथार्थ हामी सबैका अगाडि छर्लङ्गै नै छ । निम्न–पुँजीवादीहरूको त्यो हिस्सामा क्रान्तिप्रतिको विश्वास टुटेको छ । त्यसले क्रान्तिकारी सिद्धान्त र व्यवहारका विरुद्ध निराशा, अविश्वास र अन्यौल सिर्जना पनि गरिरहेका छन् । त्यस्ता मानिसहरू पार्टी वा आन्दोलनलाई क्रान्तिको हतियार होइन, विवादको मञ्च बनाउन चाहन्छन् । सर्वहारावर्गीय पार्टीको अनुशासनलाई नोकरशाहीको रूपमा विरोध गरेर सुधारवादको पूजा गर्नु उनीहरूको विशेषता हो । क्रान्तिकारीहरूले यो प्रवृत्तिलाई कुनै पनि मूल्यमा पराजित गर्नुपर्दछ । यसलाई सही किसिमले बुझ्नु र त्यसका विरुद्ध व्यवस्थित रूपले सङ्घर्ष गर्ने विधिको विकास गर्नु पार्टीको आसन्न ८ औँ महाधिवेशनको जिम्मेवारी हो ।

साम्राज्यवादी इशारामा देशीय दलाल तथा प्रतिक्रियावादी तत्वहरूले जनतालाई भ्रम दिएर शोषणको चक्रलाई निरन्तर घुमाइरहन आफ्ना नयाँ–नयाँ कार्यनीतिहरू बदलिरहन्छन् । जब दलाल तथा प्रतिक्रियावादीहरूले लुट र शोषणका नाङ्गो कार्यनीतिका ठाउँमा नयाँ आबरणमा भिन्न कार्यनीति अपनाउँछन्, तब कम्युनिस्ट आन्दोलनभित्रको निम्न–पुँजीवादीको एक हिस्सा अन्यौल र अकर्मण्यताको सिकार बन्न पुग्दछ । अन्ततः त्योे प्रतिक्रियावादीहरूको कार्यनीतिका अगाडि आफूलाई असहाय भएको महसुस गर्छ र त्यसकै वरिपरि सहयोगी बन्दै लम्पसार हुन पुग्दछ । नेपालमा प्रचण्ड–बाबुरामको आज अवस्था त्यही हो । अहिले पनि नेपालमा कथित लोकतान्त्रिक संसदीय व्यवस्थाको कार्यनीतिको माध्यमबाट माओवादी आन्दोलनलाई संसदीय महाजालमा फसाउन प्रतिक्रियावादीहरूले ठूलो षड्यन्त्र गरिरहेका छन् । यहाँ प्रचण्डको मात्र कुरा होइन कि बाबुराम भट्टराईको माओवादीधाराबाट बहिर्गमन त्यसैको द्योतक हो । चकाचौध गर्दै आइरहेको भूमण्डलीकृत साम्राज्यवादका विरुद्धको सङ्घर्ष कठीन छ तर त्यसका विरुद्ध सङ्घर्ष गर्नुको कुनै विकल्प पनि त छैन । सङ्घर्षको स्तरअनुसार नै क्रान्तिकारी व्यवहारको विकास हुन्छ । वर्गसङ्घर्षको तीव्रतासँगै क्रान्तिकारी व्यवहारको विकास गर्नु माओवादीको ८ औँ महाधिवेशनको अर्को जिम्मेवारी हो ।

वस्तुका प्रधान र गौण पाटापक्षलाई छुट्याउन नसक्नु वा तिनलाई समानान्तर बनाउनु, द्वन्द्ववादका विरुद्ध आकारपरक तर्कमा भर गर्नु, भिन्दाभिन्दै सिद्धान्त, बेग्लाबेग्लै परिस्थितिसँग सम्बन्धित मान्यता वा विभिन्न अनमेल धारणालाई कूतर्कको सहारा लिई एउटै ठाउँमा घालमेल गराउनु र सामाजिक विकास प्रक्रियाबारे कुनै सुसङ्गत तथा क्रान्तिकारी धारणा नराख्नुजस्ता सारसङ्ग्रहवादका केही मूलभूत विशेषता हुन्छन् । केही मानिस भनिरहेका हुन्छन्– हाम्रो पार्टीको यतिलाख सदस्य छन् । यतिवटा समितिहरू छन् । यति लाख भोट आयो । यो पार्टी ठूलो, ऊ पार्टी सानो । तिमेरुका पार्टीमा कति मानिस छन् र ! सबै पार्टी उस्तै त हुन् । तिमीहरू पनि उस्तै हुने त हो नि ! आदि इत्यादि । यी सबै एकाङ्गी–मनोगत कुरा हुन्, सारसङ्ग्रहवादी आकारपरक तर्क हुन् । आकारपरक तर्क गर्नेहरू कुनै पनि वस्तुको मूल्याङ्कन गर्दा त्यसका सबै पहलु, सबै सम्बन्ध र सबै माध्यमको विवेचना गर्नतिर लाग्दैनन् । उनीहरूले वस्तुको गति, विकास र परिवर्तनको अवस्थालाई ठम्याउन सक्तैनन् । सत्य सदैव ठोस र मूर्त हुन्छ भन्ने कुरालाई आकारपरक तर्कवालाहरू बुझ्न सक्तैनन् ।

आकारपरक तर्कबारे केही चर्चा–

रुसमा अक्टुबर क्रान्तिपछि राजनीति र अर्थनीतिबीचको सम्बन्धबारे चर्को बहससँगै टे«ड युनियनका प्रश्नमा घनीभूत बहस भए । जिनोन्येव भन्थे– टे«ेड युनियन कम्युनिजमका विद्यालय हुन् । ट्राटस्की भन्थे– ती उत्पादन प्रवन्धका प्रशासनिक–प्राविधिक मसिनरी  हुन् । बुखारिन भन्थे– एकातिर ती विद्यालय हुन् र अर्कोतिर मसिनरी । लेनिनअनुसार त्यो आकारपरक तर्कमा आधारित सारसङ्ग्रहवादी दृष्टिकोण थियो । ट्रेड युनियनलाई विद्यालय र मसिनरी मात्र बुझ्नु सही हुँदैन । लेनिनका शब्दमा विद्यालय, मसिनरी र मिहिनेतकसहरूका सङ्गठन, औद्योगिक मजदुरहरूका सङ्गठन, उद्योगहरूका सङ्गठन आदि हुन् । बुखारिनले ट्रेड युनियनहरूलाई ‘एकातिर विद्यालय र अर्कोतिर मसिनरी’ मात्र देखे, अन्य विशेषता देख्न सकेनन् । टे«ड युनियनका सबै पहलु, सबै सम्बन्ध र सबै माध्यमहरूको कुनै मौलिक विवेचना गर्न सकेनन् । त्यसैले त बुखारिन सारसङ्ग्रहवादीमा दरिए ।

लेनिनद्वारा प्रस्तुत बुखारिनद्वारा दिइएको एक उदाहरण–

दुईजना मानिस मञ्चमा राखिएको गिलास के हो भनी परस्पर प्रश्न गर्दछन् । एउटाको उत्तर हुन्छ– त्यो काँचको सिलिन्डर हो । अर्कोको उत्तर हुन्छ– त्यो पिउने भाँडो हो । बुखारिन भनिदिन्छन्– त्यो दुवै ठीक हो । ठीक यहीँनेर लेनिन बुखारिनलाई सारसङ्ग्रहवादी भन्नुहुन्छ । उनीहरूले त्यो गिलासलाई दुईवटा विशेषतामा मात्र सीमित गरिदिए । यसबारे लेनिन भन्नुहुन्छ, “गिलास पक्कै, काँचको सिलिन्डर र पिउने भाँडो हो तर गिलासमा केवल यी दुई विशेषता, गुण या पहलु हुँदैनन्; अपितु त्यसमा अरू विशेषता, गुण, पहलु तथा दुनियाँसितका अन्तर्सम्बनहरू र माध्यमहरूको असीम सङ्ख्या हुन्छ । गिलास ग¥हौँ चीज हो, जसलाई फ्याँकेर हान्ने काममा ल्याउन सकिन्छ । गिलासबाट पेपरवेटको काम लिन सकिन्छ, त्यसलाई पकडिएको पुतली राख्ने काममा प्रयोग गर्न सकिन्छ, यस कुराको ख्याल नगरीकन कि गिलास पिउने भाँडो हो वा होइन, कि त्यो काँचबाट बनेको हो वा होइन, कि त्यसको आकृति सिलिन्डर जस्तो छ वा छैन, त्यो यसकारण मूल्यवान् वस्तु हुन सक्छ कि त्यसमा कलात्मक बेलबुट्टा वा चित्राङ्कन छ आदि इत्यादि” –(लेनिन सङ्कलित रचना खण्ड १०, प्रगति प्रकाशन मास्को, सन् १९८६, पृ. १२६ ।)

परिवर्तित तर जटिल परिस्थितिलाई चिरेर क्रान्तिकारी कार्यदिशामा अघि बढ्न पार्टी नेतृत्वसहित सिङ्गो पार्टी–पङ्क्तिमा जुन योग्यता र साहसको माग भइरहेको छ; त्यसलाई हामीले पूरा गर्नैपर्दछ, क्रान्तिकारी जवाफ दिनुपर्दछ । क्रान्तिकारी व्यवहारलाई उच्चतामा विकास गर्दै गाउँका भोका–नाङ्गा गरिब किसानहरूसँग, सहरका अपहेलित मजदुरहरूसँग एकाकार भएर क्रान्तिलाई, एकीकृत जनक्रान्तिले देखाएको बाटोमा डोहो¥याउन मिहिनेत गर्र्नुपर्दछ । मध्यमवर्गमा रहेको क्षमता र परिवर्तनप्रतिको हुटहुटीलाई क्रान्तिको पक्षमा अधिकतम उपयोग गर्न पार्टी चुक्नुहुन्न । देशभक्त, राष्ट्रवादी, प्रगतिशील शक्तिहरूका बीचमा फराकिलो क्रान्तिकारी सम्बन्धको विकास गर्नैपर्दछ । पुरानोलाई नष्ट र नयाँको निर्माण गर्ने, आफूले आफैँलाई क्रान्तिकारी रूपान्तरण गर्ने तथा सबैखाले संशोधनवाद तथा सारसङ्ग्रहवादका विरुद्ध लडाइँको मौलिकताको विकास गर्न क्रान्तिकारीहरू एकढिक्का भएर उत्साह, साहसका साथ क्रान्तिकारी व्यवहारमा उत्रनुपर्दछ । नेपालको बढ्दो आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक सङ्कटबाट जनतालाई मुक्त गर्ने अभियानमा जुटेर विश्वक्रान्तिको एक टुकडीको भूमिका पूरा गर्नुपर्दछ । दलाल पुँजीवादका कारण नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा परेको यतिबेला अन्तर्राष्ट्रिय सर्वहारावर्गको सेवा गर्ने तथा दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनलाई गुणात्मक रूपमा उठाउने जिम्मेवारी पनि माओवादीको काँधमा नै छ भन्ने कुरालाई पार्टीको ८ औँ महाधिवेशनमा बिर्सनुहुँदैन ।

माथि उल्लिखित प्रचण्ड, किरणहरूका मनोदशा, अभिव्यक्ति र व्यवहार आकारपरक तर्कमा आधारित छन् । यी तर्क र मनोदशा सारङ्ग्रहवादका दृष्टान्त हुन् । उहाँहरूले नेकपा (माओवादी) ले क्रान्तिकारी आन्दोलनमा गरेको पहल, यसका मौलिक विशेषता, क्रान्तिप्रतिको निष्ठा र प्रतिवद्धता अनि एकीकृत जनक्रान्तिको मर्मबारे आकारपरक तर्क पेश गरिरहनुभएको छ । उहाँहरूका कुरा ‘जङ्गल सम्झिँदा रुख बिर्सने र रुख सम्झिँदा जङ्गल बिर्सिने’ जस्ता छन् । नेपालको समकालीन राजनीतिको वस्तुगत परिस्थितिमा परिवर्तन आएको छ । साम्राज्यवाद समाजवादी वैसाखी टेकेर बल्लतल्ल उभिएको छ । मानिसहरूका मनोविज्ञान भत्कँदैछन् । विश्व कम्युनिस्ट आन्दोलनमा भएका महान् बहसहरू, तिनका निष्कर्षहरूमाथि पुनः महान् बहसका साथ वैज्ञानिक समाजवादलाई नेकपा (माओवादी) ले ८ औँ महाधिवेशनमार्पmत् नयाँ उचाइ दिन खोज्दैछ । त्यसकारण, आउनुहोस्– सबैखाले संशोधनवाद, सारसङ्ग्रहवाद तथा अकर्मण्यतावादका सबै दा¥हा–नङ्ग्रालाई भाँच्दै, तिनका सबैखाले षड्यन्त्रका पर्दालाई च्यातचुत पार्दै नेपाली धर्तीमा क्रान्ति सम्पन्न गर्न सर्वहारा स्फूर्ति, लगन र आत्मविश्वासका साथ नेकपा (माओवादी) को ८ औँ महाधिवेशनलाई ऐतिहासिकता, भव्यता र उच्चताका साथ सफल पारौँ ।

(लेखक थपलिया,विप्लव माओवादी निकट प्रगतिसील लेखक संघका महासचिव हुन । )