कांग्रेस सांसदद्वारा उच्चस्तरीय छानबिन समिति माग

काठमाडौं,फागुन २५ । प्रदेश २ नम्बरका कांग्रेस सांसदहरूले सप्तरी घटनाको उच्चस्तरीय छानबिनका लागि समिति गठन गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई छुट्टाछुट्टै भेटेर उनीहरूले छानबिन समिति गठन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

‘सप्तरीमा तीनजनाको ज्यान जाने गरी भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन, घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका हौँ,’ कांग्रेस सांसद रञ्जित कर्णले भने– ‘गोली चलाउने अवस्था नहुँदा किन गोली चलाइयो, चलाउनै परे घुँडामुनि नहानी किन छाती र टाउकोमा हानियो भन्ने प्रश्न उठाएका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले मागलाई जायज रूपमा लिँदै छानबिन समिति गठन गर्ने र दोषीमाथि कारबाही गर्ने आश्वासन दिएको कर्णले जानकारी दिए । ‘सकेसम्म गोली नहान्ने भन्ने हो, हान्नैपर्नेै अवस्था आए घुँडामुनि हान्नुपर्ने थियो, तर कसरी भयो, छानबिन गर्छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कर्णले भने– ‘दोषीलाई कारबाही हुन्छ । मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्छौं ।’ कांग्रेसका सांसदले आफ्नै पार्टीका समर्थक पनि मारिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

कांग्रेस सांसदको टोलीले गृहमन्त्रीलाई पनि भेटेको थियो । भेटमा गृहमन्त्री निधिले पनि घुडामाथि गोली हान्ने आदेश नै नदिएको भन्दै छानबिन गर्ने बताएका थिए । निधिले केही दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई भेटेर विवाद नहुने गरी कार्यक्रम गर्न भनेको जानकारी पनि कांग्रेस सांसदलाई गराएको कर्णले बताए । ज्ञापनपत्र बुझाउन जानेमा तेजुलाल चौधरी, रञ्जित कर्ण, रामअयोध्या यादव, प्रेमकिशोर साह, अमरेशकुमार सिंह, आनन्द ढुंगाना, महेन्द्र यादव, डा. गणेश मण्डल, रामकृष्ण यादवलगायत थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।