भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार दोवलद्वारा प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन

काठमाडौं।फागुन २७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको छ ।

सल्लाहकार दोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका हुन । टेलिफोनका क्रममा दोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

दोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन ।

टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री प्रचण्डले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए । प्रधानमन्त्रीले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए । टेलिफोनमा प्रधानमन्त्री प्रचण्डले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताए।