राप्रपा नेता लोहनीले पार्टी छोडेंः अध्यक्ष थापाले मधेसका मुद्धालाई सरकारमा पुग्ने हतियार बनाएको आरोप (पत्र सहित)

भन्छन–‘पार्टी विधानको उपेक्षा अध्यक्षबाट भयो’

काठमाडौं । राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्ष कमल थापाले पार्टीमा कुनै छलफल नगरि सरकारमा सहभागी भएको आरोप लगाउदै पार्टीको कुनैपनि तहको सदस्य समेत नरहनेगरी राजिनामा गरेको जनाएका छन् ।

नेता लोहनीले पार्टी अध्यक्ष थापाले मधेसका समस्यालाई आफु सरकारमा पुग्ने हतियारका रुपमा प्रयोग गरेको आरोप समेत लगाएका छन ।

नेता लोहनीले आज पार्टी अध्यक्ष कमल थापालाई आफ्नो असन्तुष्टिहरु पत्र मार्फत उल्लेख गर्दै आफुले पार्टी छोडेको व्यवहोरा जानकारी गराएका हुन । उनले अध्यक्ष थापा सरकारमा गएको कुरा टेलिभिजन र समाचार मार्फत थाहापाएको भन्दै त्यसको विरोध समेत जनाएका छन ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग एकता गरेपछिको महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन गरेर त्यसैको निर्णय अनुसार आवश्यक कदम चाल्नुपर्ने कुरा उल्लेख गरिएको भएपनि उक्त निर्देशन समिति आजसम्म पनि गठन नगरिएको उनले आरोप लगाएका छन ।

पार्टी अध्यक्ष थापाले निर्देशन समिति गठनमा ढिलाई गरेको तथा पदाधिकारी चयन र सरकारमा जाने विषयमा कुनै छलफल नगरिएको भन्दै पार्टीको विधानको उपेक्षा गरेकाले आफु उक्त पार्टीमा रहन नसक्ने नेता लोहनीले बताएका छन।

नेता लोहनीले पत्र मार्फत भनेका छन–‘पार्टीलाई एक जना व्यक्तिको वा एउटा सानो झण्डाको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा प्रयोग गर्न खोजिएको स्पष्ट छ । यस्तो विधान विपरितका अधिनायकवादी कृयाकलापहरुसँग मेरो पूर्ण असहमति रहेको छ । पार्टीको एकता अगाडि नयाँ पार्टीको झण्डा राप्रपा नेपालको र चुनाव चिन्ह हलो हुने समझदारी भएको थियो । आजसम्म पुग्दा उक्त प्रतिबद्धता ठाडै लत्याइएको छ । यसमा मेरो असहमति रहेको छ ।’