निर्वाचन कार्यविधि बनाउँदै माओवादी केन्द्र

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा (माओवादी) केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ । निर्वाचन आउन करिब दुई महिनामात्र बाँकी रहँदा माओवादीले उम्मेदवार छनोट र घोषणापत्र निर्माण केही दिनभित्रै सक्ने बताइएको छ।

माओवादीले देव गुरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । समितिमा सातवटै प्रदेशका इन्चार्ज तथा पार्टी केन्द्रीय कार्यालयका प्रभावशाली नेता रहेका छन । प्रवक्ता पम्फा भुसालले सोमबार निर्वाचन परिचालन समितिको बैठक बस्ने जानकारी दिइन। तत्कालीन संविधान सभाको निर्वाचनमा अनपेक्षित हार बेहोरेको माओवादीले यसपटक निश्चित मापदण्ड बनाएर मात्र उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ ।

स्रोतका अनुसार यसपटक उम्मेदवार छनोटको सम्पूर्ण अधिकार स्थानीय समितिलाई दिने मापदण्ड तयार गरिरएको छ । स्थानीय पार्टी कमिटीले निश्चित सङ्ख्यामा सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र केन्द्रले सिफारिस भएका मध्येबाट अन्तिम उम्मेदवार टुङ्गो लगाउने गरी कार्यविधि बनाउने तयारी भइरहेको बताएको छ ।

संयोजक देव गुरुङले पनि तल्लो तहबाट आउने सिफारिसलाई प्रमुख आधार मानेर उम्मेदवार तय गर्नेगरी कार्यविधि तयार भइरहेको जानकारी दिए । गुरुङले सिफारिस तलबाट जे हुन्छ त्यसैलाई मान्ने गरी कार्यविधि बन्नसक्छ । घोषणापत्र लेखन र उम्मेदवारको मापदण्डबारे अन्तिम तयारी भइरहेको जानकारी दिँदै तर अन्तिम निर्णयका लागि माथिल्लो तहसँग समन्वय त हुन्छ नै भने ।

निर्वाचन हुन ६० दिनमात्र बाँकी रहे पनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवार तोकिसकेका छैनन् । माओवादी केन्द्रको भने झापाको दमक नगरपालिका लगायतका केही स्थानमा स्थानीय पार्टी आफैँले उम्मेदवार तय घोषणा गरेर प्रचार नै थालिसकेको छ । दमकको समितिले चार दिनअघि पार्टी केन्द्रले मापदण्ड नै बनाउनुभन्दा अघि नै औपचारिक कार्यक्रम गरेर उम्मेदवार घोषणा गरेको थियो ।

गुरुङले घोषणा भइसकेका उम्मेदवार यथावत् रहनसक्ने बताए । उनले त्यहाँ घोषणा भए पनि अन्तिम निर्णय त जिल्लाले नै गर्नुपर्ने होला । यद्यपि स्थानीय पार्टी कमिटीले सिफारिस गरेपछि त्यही अन्तिम हुनसक्छ भने ।  गोरखापत्र