होस गर्नुहोसः नचिनेको नम्बरबाट कल वा मिसकल आउन सक्छ

उपभोक्ता सजग हुनुपर्ने निर्देशक खनालको भनाई

काठमाडौँ । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट कल वा मिसकल आइरहेको छ यसो हो भने होशियार हुनु है ।

नचिनेको नम्बरमा कल ब्याक गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।

नेपालमा केही दिन यता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका कलबाट हैरानी बेहोर्नु परेको छ ।

यसरी आउने नम्बरमा कल उठाउदाँ र कलब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेका छन् ।

धेरैजसो मोबाइल प्रयोगकर्तालाई २१६ नम्बरको मोबाइलबाट कल र मिसकल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँ को हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिष्टर भएको देखाउने गरेको आम प्रयोगकर्ताको गुनासो छ।

‘यो फ्रड कल हो, यस्तो नम्बरमा कलब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन्छ । यस्तो कललाई स्पाम कल भनिन्छ।

यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने बनाएको हुन्छ जसको कारण हाम्रो मोबाइलको ब्यालेन्स रित्तिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने ।

उनले यस्तो कल सहजै ट्याक हुन नसक्ने भएकाले स्पाम कल पठाएर पैसा लाने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई लक्षित गरेको हुनसक्ने बताए ।

‘यस्तो समस्याबाट बच्न सबै भन्दा पहिला उपभोक्ता आफै सजग हुनुपर्छ’ निर्देशक खनालले भने । गोरखापत्र /अजय शर्मा