भक्तपुरमा राप्रपा नेताको घरअगाडि सिलिण्डर बम विष्फोट

कस्ले गरेको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई

भक्तपुर । भक्तपुरमा आज बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा आज विहान करिब ३ बजेतीर सिलिण्डर बम विस्फोट भएको हो ।

राप्रपाका नेता तथा २०७० को चुनावका उम्मेद्वार माधव खत्रीको घर अगाडि बम विस्फोटबाट उनको घरको सिसा फुट्नुकासाथै कम्पाउण्डको पर्खाल समेत ढलेको छ । उनको घरसँगै रहेको बलमे खत्रीको घर र ओम प्रधानको घरमा पनि क्षति पुर्‍याएको छ ।

शक्तिशाली सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको थियो ।

बम विस्फोटपछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो भने बम विष्फोटनलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

अहिले नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगिसकेको छ । बम विस्फोट कस्ले गराएको भन्ने पुष्टि भइ नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।