चीनका राष्ट्रपति सी जिनपिङ विश्वका नेताहरुबीच कथा वाचकका रुपमा उपस्थित हुने

शान्ति स्थापना तथा विश्व विकासमा चीनिया योगदानको विश्वभर प्रचार गर्ने तयारी

चीन । चिनका राष्ट्रपति सी जिनपिङले यसै साता विश्वभरका नेताहरु समक्ष चीन र बाँकी विश्वबीचको सम्बन्ध अनि ऐतिहासिक परिवर्तनहरु झल्कीने खालको एउटा कथा सुनाउने तयारी गरेका छन ।

यसैसाता बेइजिङमा आयोजना हुन लागेको ‘बेल्ट एण्ड रोड फोरमको’ कार्यक्रममा उनी कथावाचकको रुपमा मञ्चमा गएर विश्वका नेताहरुबीच विश्व शान्ति स्थापना तथा विश्व विकासमा योगदान पुर्याउने राष्ट्रका रुपमा चीनलाई प्रस्तुत गर्न लागेका हुन् ।

देशका सञ्चारमाध्यम, कूटनितीज्ञ तथा बौद्धिक संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले भनेका छन–‘चीन र बाँकी विश्वबीचको सम्बन्धले ऐतिहासिक परिवर्तनहरु देखिरहेको छ, त्यही भएर चीनका कथाहरु तपाईंहरुले राम्ररी सुनाउनुहोला, म विश्वभरीका नेताहरुबीच त्यसबेला कथावाचकको रुपमा उपस्थित हुने छु ।’

अमेरिकालाई फेरी महान बनाऔँ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको अभियान अनि ब्रिटेनको बहिर्गमनसँग युरोपेली संघले गरिरहेको संघर्ष र अन्य कतिपय चुनौतीहरुका कारण अहिले विश्वमा चिनियाँ प्रयासको अर्को प्रतिस्पर्धी अवधारणा नदेखिएको अवस्थामा उनले वाचन गर्न लागेको उक्त कथालाई धेरैले महत्वपूर्ण रुपमा हेरेका छन ।

पाँच वर्षअघि सत्तामा आएका चीनिया राष्ट्रपति सि जिनपिङ चीनले आफ्नो समर्थ्य बाँकी विश्वबाट लुकाउनु हुँदैन भन्ने दह्रो दृढता सहित उक्त दिन कथा वाचन गर्ने तयारी भएको र त्यसका लागि उनले निम्तो गर्न सक्ने जति सबै राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बेइजिङ बोलाएको विभिन्न चीनिया पत्रपत्रिकाले समाचार प्रकाशन गरेका छन ।

विश्व सबै नेताहरुसमक्ष उक्त कथा प्रस्तुत गर्ने चीनिया श्रोतले बताएपनि अमेरिका, जापान, भारत र युरोपेली संघका अधिकांश देशका नेताहरुले भने उनको निम्तोलाई अस्वीकार गरेका छन ।

विश्व व्यवस्थामा पर्दा पछाडि चुप लागेर बस्ने देश भन्दा पनि एउटा मजबुत र परम्परागत सभ्यताबाट साधारण अर्थतन्त्र हुँदै चार दशक भन्दा कम अवधिमा नै विश्व शक्ति बनेको चीनले आफ्नो अस्तित्व प्रदर्शन गर्नुपर्छ भन्ने अनुभूति सहित उक्त कथा विश्वमाझ उनले सुनाउन चाहेको बताइएको छ ।

आर्थिक रुपान्तरण र तीव्र वृद्धिदरले चीनलाई परम्परागत रुपमा पूर्वी एसियाको अर्थतन्त्रको केन्द्रमा फर्काएको छ। र, अहिले राष्ट्रपति सी चिनियाँ पैसा र निर्माण सामर्थ्यलाई प्रयोग गरी युरेसिया क्षेत्रमा बन्दरगाह, सडक र रेल निर्माण गर्न चाहन्छन् र त्यसको केन्द्रमा चीनलाई राख्न चाहन्छन्। उक्त अभ्यास अन्तर्गत आपसमा सम्पर्क विस्तार गर्ने उद्देश्य राखेर उनले कथाको मुख्य विषयवस्तु तय गरेका छन।

कयौँ विश्लेषकहरुले चिनियाँ बेल्ट एण्ड रोड परियोजनामा स्वाभाविक भूराजनीतिक स्वार्थ देखिरहेका छन् तर शंकालु तथा असहयोगी छिमक माझ रहेको चीनले त्यसलाई अस्वीकार गरिरहेको छ।

स्थलमार्ग र समुद्री मार्ग दुवैको प्रयोग गरी यातायात सञ्जाल विस्तार गर्ने, दूरसञ्चार, इन्धन पाइपलाइन र औद्ध्योगिक केन्द्रहरुको स्थापना गर्ने लक्ष्य चीनको छ जसअन्तर्गत विश्वका ६० भन्दा बढी देश तथा विश्वको झण्डै ६० प्रतिशत जनसंख्यासम्म पुग्ने भनिएको छ।

आफ्नो योजनालाई कम खतरनाक देखाउन चीनले यो अवधारणालाई सिल्क रोड भनिने प्राचिन रेशम मार्गसँग जोडिरहेको छ। उक्त बाटो हुँदै एक हजार वर्षभन्दा अघि ऊँटहरुको लस्करले चिनियाँ सामाग्रीहरु एसियाको पश्चिमतर्फको बजारमा पुर्याउने गर्थ्यो।

चीनको मुख्य उद्देश्य आफ्नो गैर सैनिक सामर्थ्य भनिने सफ्ट पावर मजबुत बन्दै गएको र शान्तिपूर्ण रुपमा आपसी लाभ लिने गरी काम गर्न आफ्नो देश तयार रहेको सन्देश दिनु रहेको छ । (एजेन्सी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुबाट)