बाँकेमा एकिकृत राप्रपा र फोरमबीच चुनावी तालमेलः १० नम्बरमा श्रेष्ठको उम्मेदवार

वडाबासीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता

बाँके । एकिकृत राप्रपा र फोरम (लोकतान्त्रिक) बीच बाँकेमा चुनावी तालमेल भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको १० नम्बर वडा अध्यक्षमा एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य उदय बहादुर सिंह श्रेष्ठलाई संयुक्त उम्मेदवार बनाउने दुई दलबीच सहमती भएको छ ।

एकीकृत एराप्रपा राष्ट्रवादीका बाँके जिल्ला अध्यक्ष कृष्ण प्रसाद खरेल र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाँकेका जिल्ला अध्यक्ष फुलाराम चौधरीले सहमती पत्रमा हस्ताक्षर गरी १० नम्बर अध्यक्ष पदका लागि श्रेष्ठलाई जिताउर्ने प्रतिबद्धता जनाएका छन् ।

२ हजार ६ सय ८८ मतदाता रहेको वडा नं. १० मा मधेश,जनजाति समुदायहरुको बाक्लो उपस्थिती रहेको छ । वडा नं. १० अर्थात पुरानो वडा नं. १३ का रैथाने एवम् ३४ वर्षदेखि पत्रकारितामा संलग्न वडा अध्यक्ष श्रेष्ठलाई सबै समुदायबाट विशेष सहयोग प्राप्त हुने एराप्रपाले विश्वास गरेको छ ।

बिहिबार एक औपचारिक कार्यक्रम गरी दुबै पार्टीका अध्यक्षहरुले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् । संयुक्त गठबन्धनबाट दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका श्रेष्ठले निर्वाचन जितेपछि समग्र वडाबासीहरुको हकहितमा काम गर्ने बताएका छन् ।