नेकपाद्धारा संघर्षका कार्यक्रम सार्वजनिक, १६ र १७ गते जिल्ला बन्दको घोषणा 

हिरासतमा लिएका नेता तथा कार्यकर्तालाई रिहाई नगरे कडा संघर्षमा उत्रिने चेतावनी

मकवानपुर । पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाई नगरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक विज्ञप्ती जारी गर्दै नारायणी व्युरोले आज संघर्षका कार्यक्रम सार्वजनिक रुपमा घोषणा गरेको छ ।

हिजो मंगलबार पार्टी जिल्ला ईन्चार्ज विरबहादुर घलान ज्वाला र जिल्ला सचिवालय सदस्य सोम घलानलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै त्यसको विरोधस्वरुप पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

पार्टीका नारायणी व्युरो ईन्चार्ज चिरन पुनले आज एक विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका नेता तथा कार्यकर्तालाई बिनासर्त रिहाईका लागि गरिएको आग्रहलाई प्रहरी प्रशासनले अस्विकार गरेकाले बाध्य भएर संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको विज्ञप्तिमा जनाईएको छ ।

संघर्षका कार्यक्रम अन्र्तगत असार १६ र १७ गते दुई दिन मकवानपुर जिल्ला बन्द गर्ने र जिल्लाव्यापी जनकारवाहीलाई तिव्रता दिने विज्ञप्तिमा जनाईएको छ ।

जिल्ला बन्दको विषयमा भोली बिहीबार जिल्लाभर प्रचारप्रसार तिव्र पारिने पार्टीले जनाएको छ । गएको जेठ २९ गते राती १२ बजे सुतिरहेको अवस्थामा पार्टीका जिल्ला सचिवालय सदस्य दिलिप स्याङ्तानलाई प्रहरीले पक्राउ गरि सार्वजनिक मुद्धा दायर गरेको छ ।

व्युरो ईन्चार्ज पुनका अनुसार हिरासतमा लिईएका तिनै जना नेता कार्यकर्तालाई रिहाई नगरे यसभन्दा पनि कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिईएको छ ।