गुन्डागर्दीमा संलग्न ६ जना पक्राउ

थप अनुसन्धान जारी

दाङ । घोराहीको तुलसीपुर चोकमा गुन्डागर्दीमा संलग्न भएको अभियोगमा भन्दै दाङको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रास बनाउने, चुनाव विरोधी कार्यसँगसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको जस्ता अभियोगका कारण ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस अभियोगमा पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–५ बस्ने ३० वर्षीय वरुण श्रेष्ठ, तुलसीपुर–६ बस्ने १९ वर्षीय अनोज खड्का र सोही ठाउँकै केतन गिरी समेत रहेका छन् ।

उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन ।

पक्राउ परेका पारस बस्नेत र भानुभक्त बस्नेत यसअघि पनि ज्यान मार्ने तथा हातहतियार मुद्दामा ३० महिना कैद सजाय पाएर छुटेका थिए ।

त्यसैगरी टोपबहादुर बुढाथोकी ज्यान मार्ने उद्योग र वरुण श्रेष्ठ कर्तव्य ज्यान, हातहतियार र लागुऔषधको मुद्दामा सजाय पाएर छुटेको प्रहरीले जनाएको छ । रासस