भारतले चीनसँगको विवादित क्षेत्रमा सेना परिचालन गरेपछि तनाव

काठमाडौं । भारतले चीनसँग सीमा जोडिएको सिक्किम क्षेत्रमा आइतबार ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ।

भुटानी भूमि डोक्लाममा चीनले अतिक्रमण गरेको भन्दै भुटानका पक्षमा भारतले आइतबार सैन्य शक्ति परिचालन गरेको हो।

ठूलो संख्यामा भारतले सिक्किम क्षेत्रमा सैनिक परिचालन गरेको भनिए पनि यकिन संख्या स्पस्ट भएको छैन। भारतीय संचारमाध्यममा परिचालित सैनिक संख्याबारे फरक फरक विवरण आइरहेका छन्।

आइतबार परिचालित भएका भारतीय सैनिक चिनियाँ सैनिकसंग नभिड्ने तर उनीहरुको गतिविधि अनुगमन गर्ने हिसाबले मात्रै परिचालन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

सन् १९६२ मा भएको चीन भारत सीमा युद्दपछि यति ठूलो संख्यामा भारतले सीमावर्ती इलाकामा सुरक्षाबल तैनाथ गरेको पहिलो पटक रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

भुटानको आग्रह पछि भारतले त्यहाँ सैनिक शक्ति बढाएको हो। डोक्लाम भारत, भुटान र चीनबीचको त्रिपक्षीय सीमाबिन्दु पर्छ। आफ्नो सीमा नजिक भारतीय सेनाको अतिरिक्त फौज परिचालन भएपछि चीन थप सतर्क बनेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।