खाडी मुलुकद्धारा इरानसँग सम्बन्ध विच्छेद गर्न माग

नाकाबन्दी लगाउने चेतावनी

कतार । कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे कुवेतलाई सोमबारसम्ममा आफ्नो देशले जवाफ पठाउने बताएका छन्।

दशकौंयताको सबैभन्दा नराम्रो भनिएको खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्।
समाचारमा जनाइए अनुसार कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल(थानीले कुवेती अमिरलाई दिनेछन्।

यद्यपि उनीहरुले उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको बताएका थिए। खाडी मुलुकहरुले अघि सारेका मागहरुमा अल जजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायत छन्।

तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्।

उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन्।
उक्त आरोप कतारले अस्वीकार गर्दै आएका छन्। (अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)